बागलुङ नगरको टोल–टोलमा स्वास्थ्य आमा समूह

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बुधबार, असार ११, २०७६

बागलुङ नगरपालिकाले महिला स्वास्थ्य स्वयमं सेविकाहरु र स्वास्थ्य आमा समूहहरुलाई सुदृढ गर्न थालेको छ ।
नगरपालिकाको १४ वटै वडामा कार्यरत १ सय ९८ महिला स्वास्थ्य स्वयमं सेविका र स्वास्थ्य आमा समूहहरुलाई सुदृढ गर्न लागेको हो ।
सरकारको महिला स्वास्थ्य स्वयमं सेविका कार्यक्रम अन्तरगत एक स्वास्थ्य स्वयमं सेविका बराबर एक स्वास्थ्य आमा समूह हुनु पर्ने प्रावधान अनुसार स्वास्थ्य आमा समूह सुदृढिकरण गर्न लागिएको बताइएको छ ।
नगरपालिकाको विभिन्न वडाहरुमा यसभन्दा अगाडि स्वास्थ्य आमा समूह गठन नगरेको हुँदा राष्ट्रिय निर्देशन अनुसार पुनः गठन गर्न लागिएको नारायणस्थान स्वास्थ्य चौकीका प्रमुख ऋषिराम शर्माले जानकारी दिए ।
स्वास्थ्य आमा समूह गठन तथा सुधार भएसँगै समाजमा बाल मृत्युदरमा कमी, मातृमृत्युदरमा कमी, पोषण अवस्थामा सुधार, परिवार नियोजन सेवामा पहुँच, जंकफुडको प्रयोगमा न्यूनिकरण, स्वास्थ्य चौकीले दिने सेवा प्रति आर्कषण लगायतका विषयहरुमा सुधार हुँदै गएको बागलुङ नगरपालिकाका स्वास्थ्य संयोजक सोमराज पाण्डेले बताउनुभयो ।
नगरपालिकाले गत वर्ष स्वास्थ्य स्वयमं सेविकाको कामलाई प्रभावकारी बनाउने उद्देश्यले ४ लाख ९० हजार बजेट विनियोजन गरेको थियो ।