३५ करोडको बजेट सार्वजनिक, कृषि, शिक्षा, पर्यटन र पूर्वाधार प्राथमिकतामा

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : बुधबार, असार ११, २०७६

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३५ करोड रुपैयाँ बढीको बजेट सार्वजनिक गरेको छ ।
सातौ गाउँसभामा उपाध्यक्ष सिर्जना केसीले चालुतर्फ २३ करोड सात लाख ९२ हजार ६ सय र पूजीगततर्फ ११ करोड ९५ लाख ९९ हजार रुपैयाँ गरी कुल ३५ करोड तीन लाख ९१ हजार ६ सय रुपैयाँको बजेट सार्वजनिक गर्नुभएको हो ।
संघीय र प्रदेश सरकारले उपलब्ध गराउने अनुदान, चालू आर्थिक वर्षमा खर्च हुन बाँकी र आन्तरिक आम्दानीलाई स्रोत मानेर बजेट ल्याएको हो । मंगलाले सडक, कृषि, पर्यटन, शिक्षा क्षेत्रलाई प्राथमिकता दिएर बजेट, नीति तथा कार्यक्रम बनाएको छ ।
बजेटमा नेपाल सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान रु ७ करोड ७३ लाख, संघिय विभाज्य कोषबाट प्राप्त हुने राजश्व बाँडफाँडबाट ५ करोड ९७ लाख, सशर्त अनुदान १३ करोड ८७ लाख, प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान १ करोड २१ लाख १२ हजार, प्रदेश राजश्व बाँडफाँड २८ लाख १० हजार, आन्तरिक राजस्वबाट प्राप्त हुने ५० लाख र सामाजिक सुरक्षा भत्ता ४ करोड ३५ लाख ६९ हजार ६ सय र चालु आर्थिक बर्षको असार मसान्तसम्म खर्च भई बाँकी रहने अनुमानित १ करोड ३० लाखलाई स्रोत अनुमान गरिएको छ ।
बजेट अघि गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम गाउँसभाले पारित गरेको थियो । नीति तथा कार्यक्रम र बजेटमा गाउँपालिकाको केन्द्र बाबियाचौर देखि वडा र बस्ती जोड्ने सडकलाई स्तरोन्नती गरि वातावरणमैत्री बनाउने र नियमित यातायात सेवा सञ्चालन गर्ने उद्देश्य राखिएको छ ।
सडक स्तरोन्नतीका लागि तीन करोड ९६ लाख ५० हजार, विद्यालय र सामुदायिक भवनका लागि ८६ लाख रुपैयाँ बजेट बिनियोजन गरेको मंगलाले एक घर एक धारा को अवधारणा अनुसार खानेपानी सुबिधा विस्तार गर्ने लक्ष्य राखेको छ ।
खानेपानी तथा सिचाई आयोजनालाई ६० लाख ५० हजार रुपैयाँ र कृषि तथा पशुपालनमा एक करोड २६ लाख रुपैयाँ बजेट प्रस्ताव गरिएको छ । बाबियाचौरमा ढल निकासका लागि २५ लाख, विपद् पिडितलाई राहत र जटिल रोगबाट थलिएकालाई सहायताका लागि १६ लाख, तालिम तथा क्षमता विकासका लागि चालिस लाख, शून्य दरबन्दिका सामुदायिक विद्यालयलाई लागत सहभागितामा आधारित अनुदानका लागि ३२ लाख पचास हजार रुपैयाँ बिनियोजन गरेको छ ।