धौलागिरीका अधिकांश ठाउँमा भेटिईको शंकास्पद वस्तु माटो, बालुवा, कागजका टुक्रा

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बुधबार, असार ११, २०७६

बागलुङ नगरपालिका वडा नम्बर २ श्रीनगर टोलमा मंगलबार शंकास्पद वस्तु फेला परेको छ ।
शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । नेपाल बन्दलाई सफल बनाउन शंकास्पद वस्तु राख्दै आएको नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाली सेनाको ब्यारेक नजिकै शंकास्पद वस्तु राखेपछि स्थानीय त्रसित बन्न पुगेका छन् ।
पार्टीको केन्द्रीय नेतालाई पक्राउ गरेपछि मुठभेदको नाममा हत्या गरेको विरोधमा आव्हान गरेको नेपाल बन्दको कारण सम्पूर्ण यातायातका साधन बजार शिक्षण संघसंस्था प्रभावित बन्न पुगेको छ । बागलुङबाट चल्ने लामो दुरीको छोटो दुरीको सवारीसाधन नचल्दा गन्तव्यमा पुग्ने यात्रु मर्कामा परेका छन् ।
त्यसैगरी म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभीरमा शंकास्पद प्रेसर कुकर भेटिएको छ ।
बेनी–जोमसोम सडकको जोखिमयुक्त निर्माणधीन काभ्रेभीरको सडक छेउमा प्रेसर कुकर र खतरा लेखिएको सेतो खाली बोरा भेटिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
घासा प्रहरी चौकीका असई मिनप्रसाद तिमिल्सिनाका अनुसार सडक छेउ राखिएको प्रेसर कुकुर बम भएको शंकामा डिस्पोज गर्न जोमसोमस्थित बज्रदल गणको टोली घटनास्थल पुगेको थियो । तर प्रेसर कुकरमा बालुवा र माटो भेटियो ।
सर्वसाधारणलाई भयभीत पार्ने र सडक अवरोध गर्ने उद्देश्यले यसो गरिएको हुन सक्ने प्रहरी सहायक निरक्षिक (असई) तिमिल्सिनाले बताउनुभयो ।
विप्लव नेतृत्वको नेकपाले मंगलबार आह्वान गरेको नेपाल बन्दमा लामो दूरीमा चल्ने कुनै पनि सवारी साधन नचलेको घाँसा प्रहरीले बताएको छ। मुस्ताङमा आन्तरिक यातायात भने नियमित भइरहेको छ ।