अघोषित लोडसेडिङ, हरेक दिन १५ पटकसम्म जान्छ बत्ती !

-- धौलागिरी एफएम संवाददाता, मुस्ताङ / प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६

राष्ट्रिय प्रशारणमा प्राविधिक गडबडी भएको बहानामा मुस्ताङमा हरेक दिन अघोषित लोडसेडिङ हुने गरेको छ ।
स्थानीयले दैनिक ५ देखि १५ पटकसम्म अघोषित लोडसेडिङ भोग्नु परेको छ । सामान्यतः साँझको व्यस्त समयमा मुस्ताङबासीलाई ९ सय किलोवार्ड विद्युत् आवस्यक पर्ने विभिन्न तथ्यांकले देखाउँछ ।
तर सोही समयमा पटक पटक लोडसेडिङ भइदिँदा स्थानीय व्यवसायीहरु आक्रोशित छन् । स्थानीय विद्युत् वितरणकेन्द्र निलगिरी उपभोक्ता सहकारी संस्थाले विभिन्न कारणले विद्युत् नियमित गर्न नसक्दा स्थानीय व्यवसायी आक्रोशित बनेका हुन् ।
मुस्ताङमा विद्युत् सेवा भरपर्दो बन्न नसक्दा अधिकांश होटल, बैंक तथा बित्तिय संस्था, सरकारी तथा गैरसरकारी कार्यालय बढी प्रभावित छन् ।
निलगिरी उपभोक्ता सहकारी संस्थाका प्राविधिक दिवाकर भुर्तेल भने पछिल्लो समय मुस्ताङमा उपभोक्ताको संख्या बढेकाले स्थानीय उत्पादनले विद्युत् थेग्न मुस्किल परेको बताउँछन् ।
यसबारे स्थानीय जनप्रतिनिधि तथा सांसदहरुले पटक पटक वार्ता गरे पनि विद्युत् उपलब्ध गराउने थप पहल भएको छैन । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने विद्युत् पहुँच विस्तारको पहल गर्ने र विद्यमान समस्या सुल्झाउन प्रदेशले अनुदानमा सौर्यउर्जा व्यवस्था गर्ने बताउनुभएको थियो ।