डिप्लोमा कोर्सका लागि ’नो अब्जेक्सन लेटर’ बन्द

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले डिप्लोमा कोर्स (विभिन्न सीपमुलक तालिम) का लागि विदेश जान चाहने विद्यार्थीलाई अध्ययन अनुमति पत्र (नो अब्जेक्सन लेटर( एनओसी) नदिने निर्णय गरेको छ ।
मन्त्रीस्तरीय निर्णय अनुसार अब सिधै विश्वविद्यालयमा पढ्न जाने विद्यार्थीका लागि मात्र यस्तो पत्र दिइनेछ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराज मणि पोखरेलका स्वकीय सचिव पुरन केसीका अनुसार अबदेखि विश्वविद्यालयमा भर्ना हुने सुनिश्चतता भएका विद्यार्थीलाई त्यस्तो पत्रको आधारमा नो अब्जेक्सन लेटर दिइनेछ ।
मन्त्रालयको यो निर्णयबाट उच्च शिक्षाको लागि विदेश जाने योजना बनाएका थुप्रै विद्यार्थी प्रभावित हुनेछन् । यसअघि कक्षा १२ को परीक्षामा उच्च अंक ल्याएका तथा विदेशी भाषा परीक्षण सम्बन्धी परीक्षा (विशेषगरी आइएलटीएस) मा न्यून अंक ल्याएका विद्यार्थी पनि डिप्लोमा कोर्समा भर्ना भएर विदेश जाने गरेका थिए ।
डिप्लोमा कोर्सका बारेमा एकीन परिभाषा तथा मापदण्ड नभएका कारण एक वर्षे, नौ महिने तथा ६ महिने कोर्सका लागि विद्यार्थीले नो अब्जेक्सन लेटर लिने गरेका थिए । यस्तो कोर्सलाई उच्च शिक्षाका मान्यता कतै पनि दिइँदैन ।
उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीलाई मात्र यस्तो पत्र दिन सकिने कानुनी व्यवस्था भएपनि परामर्श व्यवसायीको दबाबमा विद्यार्थीलाई डिप्लोमा कोर्सका लागि पनि पत्र दिने गरिएको थियो ।
पछिल्लो समय डिप्लोमा कोर्सका लागि जापान, अस्ट्रेलिया लगायतका मुलुकमा धेरै विद्यार्थी जाने गरेका छन् । मन्त्रालयको निर्णयबाट यी मुलुक जाने योजना बनाएका विद्यार्थी बढी प्रभावित हुने परामर्श व्यवसायीहरूको भनाई छ । पछिल्लो समय डिप्लोमा कोर्सका लागि भन्दै नेपालमा एसएलसी (एसईई) मात्र उत्तीर्ण गरेका विद्यार्थी पनि विदेश जाने गरेका थिए ।