बदलिदै राम मन्दिरको स्वरुप

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, जेष्ठ ३०, २०७६

भुकम्पले क्षतिग्रस्त बागलुङको काठेखोला गाउँपालिका–६ इनारपानी स्थित परमेश्वर राममन्दिर पुनःनिर्माण सुरु गरिएको छ ।
आर्थिक अभावले विगत ४ वर्षदेखि थला परेको मन्दिर महायज्ञ संचालन गरी आर्थिक संकलन गरे पछि निर्माणको कामले गति लिएको हो ।
मन्दिर निर्माणको लागि गत चैत्र २३ देखि ३० गतेसम्म महायज्ञ संचालन गरिएको थियो । महायज्ञबाट एक करोड ११ लाख ३७ हजार रुपैयाँ संकलन भएको महायज्ञ मुल आयोजक समितिका कोषाध्यक्ष थानेश्वर कँडेलले जानकारी दिनुभयो ।
यज्ञमा १० लाख रुपैयाँ खर्च भएको थियो । परम्परागत शैलीमा निर्माण गर्न थालिएको मन्दिरको एक करोड ७ लाख रुपैयाँ लागत स्टिमेट रहेको छ । मन्दिर आगमी चैत्रसम्म बनाउने लक्ष्य राखिएको छ ।
मन्दिर स्थलमा देवी भागवत ज्ञान सत्तल, वाचनालय, होम स्थल लगायतका अन्य संरचना पनि निर्माण हुने कोषाध्यक्ष कँडेलकोे भनाई छ । मन्दिरलाई आकर्षक र पूर्ण संरचना सहितको निर्माण गर्न तीन करोड रुपैयाँ लाग्ने वडाध्यक्ष युक्तप्रसाद कँडेलको भनाई छ ।
‘तत्काल मन्दिर मात्रा निर्माणको काम थालेका छौँ’ वडाध्यक्ष कँडेलले भन्नुभयो–‘आगमी दिनमा पूर्ण संरचना सहितको मन्दिर बनाउने तयारीमा छौँ ।’ गतवर्ष वडा कार्यालयले ३ लाख र वडा नम्बर ५ ले २ लाख ५० हजार रुपैयाँ विनियोजन गरी मन्दिर परिसरमा तारजाली लगाउने काम भएको थियो ।
२०५० सालमा परमानन्द स्वामीले निर्माण गरेको सो रामन्दिर २०७२ लाखको भुकम्पले क्षति भएको थियो । मन्दिर रहेको क्षेत्रमा धर्मगुरु परमानन्द कँडेलको जन्म स्थितल हो ।