क्विक्स कप फुटबलः समुह चरणका खेल सकिए

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

बागलुङ बजारमा जारी क्विक्स कप अन्तरविद्यालय स्तरीय फुटबल प्रतियोगितामा सोमबार समुह चरणका खेलहरु सकिएका छन् ।
सोमबार धौलागिरी विरेन्द्र माध्यमिक विद्यालय, अमृत आदर्श बोर्डिङ र रुद्रेपिपल माध्यमिक विद्यालयले जित दर्ता गर्दै प्रि–क्वाटर फाइनलमा प्रवेश गरेका छन् ।
सोमबारको पहिलो खेलमा धौलागिरी विरेन्द्र माविले न्यू एभरेष्ट एकेडेमीलाई १–० गोलअन्तरले पराजित गर्दै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
धौलागिरीको लागि अंकित पौडेलले खेलको ३४ औं मिनेटमा पेनाल्टीबाट गरेको गोल नै जितको लागि निर्णय बन्यो । न्यू एभरेष्टका संगम विकले डिबक्स एरिया भित्र ह्यान्ड गरेपछि धौलागिरीले पेनाल्टी प्राप्त गरेको थियो ।
दोस्रो खेलमा अमृत्त आदर्श बोर्डिङ स्कुलले गणेश माध्यमिक विद्यालय बलेवालाई २–० गोलअन्तरले पराजित गरेको छ । अमृतको जितको लागि खेलको १६ औं मिनेटमा दिपेश पुन र ४५ औं मिनेटमा संजिभ थापाले गोल गरेका थिए ।
समुह चरणको अन्तिम खेलमा रुद्रेपिपल माध्यमिक विद्यालयले गरिमा आवासिय माविलाई टाइब्रेकरमा २–० गोलअन्तरले पराजित गरेको छ । निर्धारित समयमा दुवै टिमबाट कुनै गोलहुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
ट्राइब्रेकरमा रुद्रेपिपलका रोहन बोहोरा र सुविक थापाले गोल गरेका थिएभने सचिन शर्माको प्रहार बाहिरीएको थियो । यस्तै गरिमाका आर्यान थापा र अलिस थापाको प्रहार बाहिरीएको थियो भने कल्पन क्षेत्री र नयन रोकाको प्रहार रुद्रेपिपलका गोलकिपरले रोकेका थिए ।
यस्तै सोमबार नै त्रिभुवन माध्यमिक विद्यालयले बढि उमेरका खेलाडीहरु मैदान प्रवेश गराए पछि कारवाही गरिएको छ । आदर्श विद्यामन्दिर माविसँगको खेलमा बढि उमेरका खेलाडीहरु मैदान प्रवेश गराएको प्रमाणपछि त्रिभुवन कारवाहीमा पर्दा आदर्श विद्यामन्दिर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै सोमबारको चौथो खेलमा अमर माध्यमिक विद्यालय उपस्थित नभएपछि रेश नुन्थला माध्यमिक विद्यालय स्वतः विजयी हुँदै प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगितामा भोली (मंगलबार)देखि प्रि–क्वाटरफाइनलका खेल हुने भएका छन् । मंगलबार पहिलो खेल अमर आदर्श आवासिय मावि विरुद्ध विद्यामन्दिर माध्यमिक विद्यालय, सनराइज बोर्डिङ विरुद्ध अमृत आदर्श बोर्डिङ स्कुल र साविकको विजेता सिदार्थ शिक्षा सदन विरुद्ध फ्युचर ब्राइटर बोर्डिङ विच हुने प्रतियोगिता प्रचारप्रसार उपसमिति संयोजक सुर्य लामिछानेले जानकारी दिनुभयो ।