झोङ गुम्बा जीर्णोद्धार परियोजनाको उद्घाटन

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

अमेरिकी राजदूर्त यान्डी डब्लु बेरी र गण्डकी प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले मुस्ताङको झोङ गाउँमा अवस्थित १६औँ शताब्दीको झोङ छोदे शेडूप छोपेल लिङ गोम्पा (झोङ गुम्बा) जीर्णोद्धार परियोजनाको उद्घाटन गर्नूभएको छ ।
२०७२ सालको भूकम्पबाट क्षति पुगेको उक्त ऐतिहासिक स्थलको जीर्णोद्धार तथा भूकम्पीय सबलीकरणको १ लाख २३ हजार ६८१ अमेरिकी डलरको बजेटमध्ये अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) मार्फत १ लाख अमेरिकी डलर रकम योगदान गरेको छ ।


झोङ गुम्बा व्यवस्थापन समितिले बाँकी २३ हजार ६८१ अमेरिकी डलर रकम बेहोर्नेछ भने हेरिटेज एण्ड इन्भाइरोमेन्ट कन्जर्भेसन फाउन्डेशन नेपाल (एचईसीएफएन) ले जीर्णोद्धार सम्पन्न गर्नेछ। उक्त जीर्णोद्धार कार्य सन् २०२० को सेप्टेम्बर महिनाभित्र पुरा गर्ने कार्यक्रम छ ।
स्थानीय समुदाय तथा झोङ गुम्बा व्यवस्थापन समितिसँग व्यापक परामर्श गर्दै एचईसीएफएनले उक्त संरचनालाई भूकम्पीय रूपमा बलियो बनाउनुका साथै गुम्बाभित्र रहेका शताब्दीऔँ पुराना चित्रकलाको समेत जगेर्ना गर्नेछ ।
परियोजनाले स्थानीय कारिगरलाई काममा संलग्न गराउनेछ भने परियोजना समापन भइसकेपछि गुम्बाको मर्मतसम्भार कायम गर्नका लागि स्थानीय युवालाई स्थलगत तालिम समेत उपलब्ध गराइनेछ ।