शिक्षक सरुवा स्थानीय तहबाटै, बढुवाको अङ्कमा फेरवदल

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

सार्वजनिक विद्यालयहरूमा कार्यरत शिक्षकको सरुवा विद्यालय व्यवस्थापन समितिको सहमतिमा सम्बन्धित स्थानीय तहले गर्ने गरी शिक्षा ऐनको मस्यौदा तयार गरिएको छ ।
यस अघि संसदको विधेयक अधिवेशनबाटै पारित गराउने गरी तयार ऐनको मस्यौदामा रहेको व्यवस्थापन समितिको सहमतिमा सम्बन्धित स्थानीय तहको शिक्षा हेर्ने अधिकारीलाई दिईएको सरुवाको अधिकार हटाएर ऐनको नयाँ मस्यौदामा स्थानीय सरकार मातहत राखिएको हो ।
संविधानले विद्यालय शिक्षा सम्मको अधिकार स्थानीय सरकार मातहत हुने व्यवस्था गरेको आधारमा उक्त प्रावधान राखिएको मन्त्रालय श्रोतले जनाएको छ । जारी बजेट अधिवेशनबाटै ऐन पारित गर्ने शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बताउँदै आएका छन् ।
सोही अनुसार तयार ऐन अर्थ मन्त्रालयबाट सुझाव सहित प्राप्त भए पछि कानूनी परामर्शको लागि एक महिना अघि शिक्षाले कानून मन्त्रालयमा पठाएको छ ।
कानूनमा पठाईएको ऐनको उक्त मस्यौदामा एकै जिल्ला भित्रका अन्तर स्थानीय तहबीच हुने शिक्षकको सरुवा विद्यालय व्यवस्थापन समिति र सम्बन्धित स्थानीय तहको सहमतिमा जिल्ला तहको शिक्षा सम्बन्धी मामिला हेर्ने कार्यालयले गर्ने प्रस्ताव गरिएको छ । यस्तो सरुवाको विवरण अद्यावधिक गरी प्रदेश शिक्षा विभागमा पठाउनु पर्नेछ ।