सय मेगावाट क्षमताको नीलगिरि खोला निर्माण शु्रु

-- / प्रकाशित मिति : मङ्लबार, जेष्ठ २८, २०७६

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ ।
नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट क्षमताको नीलगिरि क्यासकेड बनाउनका लागि पूर्वाधार निर्माण शुरु गरेको हो । कम्पनीका प्रतिनिधि उपेन्द्र गौतमले नीलगिरि क्यासकेडको पहुँच मार्ग बनाइसकेको र नीलगिरिको पहुँचमार्ग निर्माण शुरु भएको जानकारी दिए ।
नारच्याङको मिरिस्ती र घलेम्दी खोलाको दोभानमा प्रस्तावित विद्युत्गृहदेखि छोटेपा भन्ने ठाउँमा रहने बाँधसम्म सडक पु¥याएको छ । छोटेपादेखि नीलगिरि र अन्नपूर्ण खोलाको दोभान हुमखोलामा प्रस्तावित नीलगिरि खोलाको बाँधसम्म थप साढे तीन किलोमिटर सडक पुर्याउन काम शुरु गरिएको छ ।
डेढ वर्षको अवधिमा अक्करे पहाड छिचोलेर ११।५ किलोमिटर सडक निर्माण गरिएको हो । रानीबास भन्ने ठाउँमा आयोजनाको कार्यालय र प्रशासनिक भवन बनाइएको छ । नीलगिरि पहिलोको विद्युत्गृहबाट निस्कने पानी नजीकै रहने क्यासकेडमा प्रयोग गरिने भएको छ । सुरुङ, विद्युत्गृह र बाँधको संरचना एकैसाथ निर्माण अघि बढाउने तयारी गरिएको इञ्जिनीयर केशव वाग्लेले बताउनुभयो ।
“नदीको उचाइ धेरै भएकाले दुई वटा आयोजना निर्माण गर्न लागिएको हो”, उनले भने, “स्रोत जुटाउनेदेखि अन्य सबै प्रक्रिया पूरा भइसकेको छ ।” पहुँचमार्ग बनेपछि निर्माण सामग्री ढुवानी गर्न र आवत–जावत गर्न सहज भएको छ । १३ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको सो आयोजनाका लागि लगानी जुटिसकेको छ ।