सामुहिक खेतीमा म्याग्दी महिलाहरु

-- धौलागिरी एफएम संवाददाता,म्याग्दी / प्रकाशित मिति : सोमवार, जेष्ठ २७, २०७६

म्याग्दीको रघुगंगा गाउँपालिका–२ भगवतीको साझापानीका महिलाहरुले सामुहिक खेती सुरु गरेका छन् ।
स्थानीय सिर्जनशिल आमा समूहको अगुवाइमा सामुहिक रुपमा व्यवसायिक मौसमी र बेमौसमी तरकारी खेती सुरु भएको हो ।
३० जना महिलाहरु आवद्ध समूहको अगुवाईमा महिलाहरुको आयआर्जन वुद्धीका लागि तरकारी खेती सुरु गरिएको समूहकी अध्यक्ष सन्तु भण्डारीले बताईन । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयद्धारा सञ्चालित राष्ट्रपति महिला उत्थान कार्यक्रमको सहयोगमा खेती सुरु गरिएको हो ।
मन्त्रालयले सामुहिक खेतीका लागि समूहलाई छ लाख पचास हजार रुपैयाँ उपलब्ध गराएको छ । मन्त्रालयले उपलब्ध गराएको अनुदान र समूहको कोष परिचालन गरेर मौसमी र बेमौसमी तरकारी खेती सुरु गरिएको समूहकी सचिव बिन्दु भण्डारीले जानकारी दिनुभयो ।
५ वटा व्यक्तिगत र ४ वटा सामुहिक टनेल निर्माण गरेर खेती सुरु गरिएको छ । थप चार वटामा तरकारी खेती सुरु गर्ने तयारीमा छन् । खुर्सानी, मुला, चौमासे सिमी, टमाटर, जागर, तिते करेला, मेथी, बन्दा, काउली, काँक्रा, रामतोरीया, घिरौला, जुगेनी, तने बोडी, अदुवा लगायत जातका तरकारी खेती गरिएको छ ।
घरायसी उपभोग, गाउँमा आवश्यक पर्ने तरकारी आपूर्तीका साथै आम्दानीको अवसर सिर्जना गर्न खेती गरिएको हो । गाउँमै तरकारी उत्पादन गरेमा बजारबाट आयात गर्नुपर्ने अवस्था हट्ने अपेक्षा गरिएको छ ।