बागलुङको पर्यटन विकासमा ५ करोड, कहाँ कति ?

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : आइतवार, जेष्ठ २६, २०७६

सरकारले बागलुङ जिल्लाका पर्यटकीय गन्तव्य विकासका लागि ५ करोड ५ लाख बजेट विनियोजन गरेको छ । पर्यटकीय क्षेत्रका आवश्यक पूर्वाधार निर्माणसँगै प्रवर्द्धन गर्न बजेट विनियोजन गरिएको हो ।

जिल्लाको पर्यटकीय गन्तव्यको रूपमा सूचीकृत गरेको बागलुङ कालिका मन्दिर, ढोरपाटन, पञ्चकोट र भैरव स्थान मुलावारी गाजादहलाई रु ५०/५० लाख विनियोजन भएको अर्थ मन्त्रालयले जनाएको छ ।यस्तै पञ्चकोटको थप पूर्वाधार निर्माणका लागि रु ८० लाख विनियोजन भएको छ । आब २०७६/७७ को बजेटले बागलुङको पर्यटन विकासमा रु पाँच करोड पाँच लाख रकम विनियोजन भएर आएको हो ।

जिल्लाको बलेवास्थित भैरबस्थान मन्दिर संरक्षणका लागि १० लाख, काठेखोला गाउँपालिका–७ रेशमा मदन भण्डारी पदमार्ग निर्माणका लागि २५ लाख, सहिद गोविन्द अधिकारी स्मृति प्रतिस्ठानका लागि २० लाख, ढोरपाटनमा मगर सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि २० लाख, ब्रम्हाकमल मन्दिरलाई १५ लाख, बागलुङ नगरपालिकाको रातमाटास्थित सरस्वती मन्दिरका लागि १० लाख, तमानखोला गाउँपालिकास्थित बराहाताल/कटेरी संरक्षणका लागि १० लाख, बडिगाड गाउँपालिकाको राधाकृष्ण मन्दिरका लागि रु १५ लाख विनियोजन गरिएको छ ।

यस्तै ताराखोला गाउँपालिकामा सांस्कृतिक सङ्ग्रहालय निर्माणका लागि २० लाख, रातमाटा विकास समाजका लागि ४० लाख, गलकोट नगरपालिकाको घुम्टेस्थित सिद्धभैरव मन्दिर संरक्षणका लागि २० लाख, भैरवस्थान मुलावारी हुँदै रेश जाने पदमार्ग निर्माणका लागि १० लाख र घोडाबाधे घुम्टे पदमार्ग निर्माणका लागि रु १० लाख बजेट विनियोजन भएको छ ।

पर्यटकीय गन्तव्यको रुपमा रहेका जैमिनी धाम, बिहुँको रामकोट, हांडीकोट लगायत क्षेत्रमा भने बजेट विनियोजन गर्दा छुटेको छ । पर्यटन मन्त्रालयको बजेट २ अर्ब ६८ करोड छ । पर्यटकीय स्थलहरूको प्रचारप्रसार, पहिचान भएका गन्तव्यको पूर्वाधार निर्माणमा तीव्रता दिने र थप पर्यटकीय गन्तव्य स्थलहरूको पहिचानमा सरकारले जोड दिने बताएको छ ।