क्विक्स कप फुटबलको तयारी पुरा

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, जेष्ठ २५, २०७६

जिल्ला फुटबल संघ बागलुङले शनिबारदेखि हुने क्विक्स कप अन्तरस्कुल स्तरीय छात्र तथा छात्रा फुटबल प्रतियोगिताको तालिका प्रकाशित गरेको छ ।
शुक्रबार एन्फाले गोलाप्रथा मार्फत खेलको टाइसिट निकालेको हो । शनिबारदेखि बाङ्गेचौर खेलमैदानमा हुने छात्र तर्फको प्रतियोगीतामा २५ विद्यालयको सहभागीता रहने छ । त्यस्तै छात्रा तर्फ ४ विद्यालयको सहभागिता रहेको छ ।
छात्रा तर्फ शनिबार अमर आदर्श मावि र सिद्धार्थ शिक्षा सदनको छात्रा टिम विच उद्घाटन खेल हुने एन्फा बागलुङले जनाएको छ । यस्तै दोस्रो खेलमा छात्रा तर्फनै चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल विरुद्ध न्यू एभरेष्ट एकेडेमीबीच हुनेछ । प्रतियोगिताका विजेता टिमले जेठ ३२ गते फाइनल खेल खेल्नेछन् ।
यस्तै एन्फाले निकालेको टाइसिट अन्तरगत आईतबारदेखि समुह चरणमा छात्र तर्फ ३ समुहको खेल हुने जनाइएको छ । एक समुहको खेल इलाका छनौटको रुपमा मंगलबार गल्कोट नगरपालिका–११ रिघामा सम्पन्न प्रतियोगिताको विजेता रत्नलक्ष्मी मावि सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
छात्र तर्फको खेल आईतबारदेखि हुने एन्फा बागलुङले जनाएको छ । प्रतियोगितामा छात्र तर्फको विजेताले नगद १५ हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै छात्रा तर्फको विजेता टिमले ५ हजार रुपैयाँ र उपविजेता टिमले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
अखिल नेपाल फुटबल संघ एन्फाको बार्षिक क्यालेन्डर अन्तरगत हुन लागेको प्रतियोगिता जेठ ३२ गतेसम्म संचालन हुनेछ ।