छैटौ औँ दिनमा ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा (भिडियो सहित)

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, जेष्ठ १९, २०७६

लोकप्रिय गायक तथा सर्जक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको गीत ‘गलबन्दी’ युट्युबको ट्रेन्डिङ १ मा पुग्न सफल भएको छ ।
गत जेठ ११ गते सपुतको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको म्युजिक भिडियो एक सातामै ४७ लाख १६ हजार बढी दर्शकले हेरिसकेका छन् ।
केही दिन अघि नै ट्रेन्डिङ १ मा पुग्ने आँकलन गरिए पनि नागा चैत्यना, मदहवन र निद्धी अग्रवालको हिन्दी चलचित्र साभाक्षीले कब्जा जमाइरह्यो । तर शनिबार बिहानैबाट चलचित्रलाई पछि पार्दै ट्रेन्डिङ १ मा पुगेको हो ।
बियोगान्त ‘बोलमाया’ गीतबाट सर्वा्धिक चर्चा कमाएका सपुत त्यसकै प्रिसिक्वेलको रुपमा ‘गलबन्दी’ तयार गरेको बताउँछन् । यस गीत र म्युजिक भिडियोबाट गाउँको पुरानो रोदी घरको मौलिक परम्परालाई सम्झाउन प्रयत्न गरेको उहाँको भनाई छ ।
दोहोरी ब्याटल जस्तो दोहोरीकै शैलीमा नयाँ प्रयोग गरेर चर्चा र विवाद दुवै झेलेका प्रकाशलाई लोक दोहोरीको क्षेत्रमा ‘ट्रेन्ड चेन्जर’को रुपमासमेत लिन थालिएको सर्जक सुवास रेग्मीको भनाई छ । सपुतको स्वर, शब्द तथा संगीत रहेको गीतमा शान्ति श्री परियारले आवाजमा साथ दिनुभएको छ । प्रकाश आफैले निर्देशन गरेको भिडियोमा चर्चित मोडेल अञ्जली अधिकारीको अभिनयले सर्वत्र चर्चा बटुलेको छ ।
भिडियोको कथाले यो गीतमा मात्रै नभएर उहाँको आगामी गीत ‘बोल माया—२’ आउने समयको समेत प्रतिक्षा गर्न बाध्य पारेको छ । फिल्ममा सिक्वेलको प्रचलन भए पनि दोहोरी गीतमा नयाँ प्रयास गरिएको र श्रोता दर्शकले अत्यधिक मन पराएपछि निकै उत्साहित भएको सपुतले बताउनुभयो ।

भिडियो हेर्नुहोसः