मुस्ताङको झोङ गुफामा महोत्सव् हुने

-- धौलागिरी एफएम संवाददाता, मुस्ताङ / प्रकाशित मिति : मङ्लबार, जेष्ठ ७, २०७६

हिमालपारिको जिल्ला मुस्ताङमा रहेको तीन हजार वर्ष पुरानो ऐतिहासिक झोङ गुफामा महोत्सव आयोजना गरिने भएको छ ।
चट्टान खोपेर बनाइएको ५ तले झोङ गुफामा लोमान्थाङ गाउँपालिका, अन्नपूर्ण संरक्षण क्षेत्र, इलाका संरक्षण कार्यालय लोमान्थाङको संयुक्त आयोजनामा पहिलो पटक महोत्सव हुन लागेको हो। गुफामा ४४ कोठा छन्।
‘गुफामै बसौं, गुफामैं खाउँ, गुफामै रमाउँ’ भन्ने नाराका साथ हुन लागेको महोत्सवमा स्थानीय उत्पादन आलु, उवा, फापरबाट बनेका परिकार सहभागीलाई चखाइने लोमान्थाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुशिल अर्यालले जानकारी दिनुभयो ।
महोत्सवमा स्थानीय भेषभुषा प्रदर्शन, परम्परागत घोडादौड, तिर हान्ने प्रतियोगिता पनि आयोजना हुने कार्यक्रम छ । त्यस्तै कृषि, हस्तकला, खानाका साथै स्थानीय उत्पादन समेटिएका १७ वटा स्टल राखिने भएको छ ।
महोत्सव जेठ १६ देखि १९ गतेसम्म सञ्चालन चल्ने छ । शत्रुबाट हुने आक्रमणबाट आफ्नो मान्छेलाई बचाउन त्यसबेला सो गुफा निर्माण गरिएको स्थानीय बुढापाकाको भनाइ छ । गुफा तीनहजार वर्षअघि बनेको विश्वास गरिए पनि कुन समयमा बनेको हो भन्ने तथ्य अझै फेला नपरेको गण्डकी प्रदेस सांसद इन्द्रधारा विष्ठले बताउनुभयो ।