कोरिया भाषा परीक्षा अर्को वर्षदेखि अनलाइन

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ ।
-- / प्रकाशित मिति : बुधबार, माघ २, २०७५

सन् २०२० देखि कोरिया रोजगारीका लागि दिनुपर्ने भाषा परीक्षा अनलाइनबाटै हुने भएको छ ।

वैदेशिक रोजगार विभाग अन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) को परीक्षा अनलाइन प्रणाली मार्फत गराउने तयारीमा रहेको इपिएस शाखाका प्रवक्ता शोभाकर भण्डारीले जानकारी दिनुभयो ।

अचेल कोरियन भाषा परीक्षा कागजमा लिने चलन छ । ‘अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन । हामीले परीक्षा केन्द्र तोकिदिएका हुन्छौं । त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ,’ भण्डारीले भन्नुभयो । उहाँले हाल आवेदन प्रक्रियालाई अनलाइन प्रणालीमा परिणत गरिएको छ । अर्को वर्ष सन् २०२० देखि अनलाइनबाटै इपिएस परीक्षा दिने व्यवस्था हुने उहाँले बताउनुभयो ।

नेपाल सरकार र दक्षिण कोरियाबीच भएको समझदारी अनुसार २००८ देखि इपिएस प्रणालीमार्फत रोजगारीका लागि नेपाली श्रमिक दक्षिण कोरिया जान थालेका हुन् । उक्त प्रणालीबाट मंसिर मसान्तसम्म ५४ हजार चार सय नेपाली श्रमिक कोरिया गएका छन्। त्यसमा महिलाको संख्या तीन हजार चार सय ६९ छ । हाल दक्षिण कोरियामा करिब ३५ हजार नेपाली कार्यरत रहेको अनुमान छ । इपिएस मार्फत कोरिया जानेको संख्या प्रत्येक वर्ष बढिरहेको छ ।

कोरियामा नेपाली श्रमिकको तलब न्यूनतम मासिक एक लाख ५० हजार रुपैयाँ तोकिएको छ । कतिपयले त मासिक तीन–चार लाख रुपैयाँसमेत कमाउने गरेको बताइन्छ । दक्षिण कोरियाले इपिएस प्रणाली मार्फत नेपाल सहित १४ राष्ट्रबाट प्रत्येक वर्ष ५० हजार हाराहारी श्रमिक लैजान्छ । सन् २०१९ का लागि लिइएको भाषा परीक्षामा सात हजार नौ सय ९६ नेपाली उत्तीर्ण भएका छन् । सो परीक्षामा ८२ हजार दुई सय ६४ जना सहभागी भएका थिए । सन् २००८ यता कोरिया जानका लागि भाषा परीक्षा दिनेको संख्या चार लाख ८३ हजार भन्दा बढी रहेको शाखाले जनाएको छ ।

अनलाइन भनेर घरमै बसेर दिन मिल्ने भने होइन । परीक्षा केन्द्र तोकिएका हुन्छन् । त्यहाँ छुट्टाछुट्टै कम्प्युटरबाट अनलाइनमै परीक्षा दिनुपर्ने हुन्छ ।