बुर्तिबाङलाई नमूना शहर बनाउन आर्थिक वर्षमा ११ करोड १० लाख

नेपाल सरकारले सञ्चालन गर्दै आएको नयाँ शहरी आयोजना अन्तरगत नमूना शहरको योजनामा रहेको बुर्तिबाङमा यस आर्थिक वर्षका लागि ११ करोड १० लाख रुपैयाँ वजेट स्वीकृत भएको छ ।
-- धौलागिरी एफएम / प्रकाशित मिति : बुधबार, माघ २, २०७५

नेपाल सरकारले सञ्चालन गर्दै आएको नयाँ शहरी आयोजना अन्तरगत नमूना शहरको योजनामा रहेको बुर्तिबाङमा यस आर्थिक वर्षका लागि ११ करोड १० लाख रुपैयाँ वजेट स्वीकृत भएको छ ।

नयाँ शहरी आयोजना बुर्तिबाङले यस आर्थिक वर्षमा विभिन्न १६ वटा योजना सञ्चालनमा ल्याउने संघीय आयोजना प्रमुख नारायण भण्डारीले बताउनुभयो ।

मध्यपहाडि लोकमार्गका अन्तरगतका १० स्थान मध्येको १ बुर्तिबाङ बजार पनि नमूना शहरको योजनामा छ । विगत ७ वर्षयता कार्यालय नै सञ्चालनमा रहेको नयाँ शहरी आयोजनाले प्रत्येक वर्ष विभिन्न योजना सञ्चालन गर्दै आएपनि भने जति काम भने सञ्चालन गर्न सकेको पाइएको छैन । हरेक वर्ष योजना पर्छन् तर काम गर्न नसकेर रकम फिर्ता भएर जाने गरेको आयोजना कार्यालयले बताउँछ । योजनाको टेन्डर हुन्छ, टेन्डर पाएको कम्पनिले समयमा कबाम नगर्दा समस्या उत्पन्न भएको छ ।

यस आर्थिक वर्षमा नयाँ शहरी आयोजना बुर्तिबाङले, जग्गा खरिदमा १ करोड, नयाँ शहर आयोजना भवन निर्माणमा १ करोड, डिपिआर बमोजिम एकीकृत शहरी सेवा केन्द्र निर्माणमा ८ लाख, फर्निचर खरिदमा ५ लाख, मेसिनरी औजार खरिदमा ७ लाख, नयाँ शहरी आयोजनाको डिपिआर अनुसार बस्ति विकासमा ३ करोड, सडक स्तरोन्नति तर्फ १ करोड विनियोजन गरेको छ ।

यस्तै सडक निर्माण तर्फकै बजेट अनुसार बतासे खोला डाँडा, मतिखरा हुँदै छरछरेसम्मको सडक, बुर्तिबाङदेखि रिनामसम्मको सडक, बुर्तिबाङ दुलेहुँदै बोंगादोभान जोडने सडक तर्फ १ करोड ५० लाख रुपैयाँ विनियोजन भएको छ ।

यता बजारको बरपिपल हुँदै तल्लो नयाँ बस्ति सम्मको ढल निर्माण तथा स्तर उन्नति तर्फ ५ लाख, निसीभुजी जनाता क्याम्पस देखि अस्पतालसम्मको ३ किलो मिटर सडक स्तरउन्नति तर्फ ५ लाख, बुर्तिबाङ उपल्लो बजार हुँदै बसपार्क सम्मको शाखा सडक स्तरउन्नति तर्फ ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

यसैगरी एकीकृत विकास योजनाबाट सम्भाव्यता देखिएका २ शहरी पूर्वाधार निर्माण गर्न , विसुन्धारा खेदि कुत्थाप्लासम्मको सडक स्तरउन्नति र मध्य पहाडि लोकमार्गको जिरो किलोमिटरदेखि देवचोकसम्मको सडक विस्तार र रिभरहेड साइडको भित्री बाटो निर्माणमा रु.५० लाख विनियोजन गरिएको छ ।

यस्तै बुर्तिबाङ नयाँ शहर सोरबोटदेखि भब्रेटासम्मको सडक स्तरउन्नतिमा रु. २० लाख, मध्य बुर्तिबाङ नयाँ शहरी आयोजनादेखि मध्यपहाडि लोकमार्गको खप्तरीबाङहुँदै निसीभुजि जनता क्याम्पससम्मको सडक स्तरउन्नतिका लागि २ करोड, बुर्तिबाङको पुरानो बजार मिलनचोक हुँदै बसपार्क, उपल्लो बजार पुल्चोक सम्मको सडक स्तरउन्नतिका लागि रु. २० लाख, जग्गा विकास ब्लक प्लान स्वीकृति पछि सिमांकन गरि सडक निर्माण गर्न १५ लाख, बरपिपल हुँदै भव्रेटा सम्मको सिडि निर्माणमा रु. १५ लाख र आइडिपि अनुसार पूर्वाधारहरको डिपिआर तयार पार्न ५ लाख रुपैयाँ विनियोजन भएको आयोजना प्रमुख भण्डारीले जानाकारी दिनुभएको छ ।

नयाँ शहरी आयोजनाको काम यस अभि जिल्ला स्थित शहरी विकास तथा भवन डिभिजन कार्यालयले हेर्ने गरेकोमा अहिले सिधै केन्द्र स्थित संघीय आयोजनाले हेर्ने भएको छ । १ लाख जनसंख्याको अनुमान सहित सुरु भएको नयाँ शहरी आयोजनाको काममा ढिलासुस्ती भएपछि स्थानीय समयमै आयोजना सम्पन्न हुनेमा बिश्वस्त हुन सकिरहेका छैनन् ।