गरे नेपाल मै छ…।

बाख्रा, कुखुरा र तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै
-- तारानाथ आचार्य, बागलुङ / प्रकाशित मिति : सोमवार, पुस २३, २०७५

कोरिया छाडेर खोरियामा रमाउँदै बागलुङको जैमिनी नगरका एक युवा, बाख्रा, कुखुरा र तरकारी खेतीबाट मनग्य आम्दानी गर्दै ।
गरे नेपाल मै छ…।
पाँच वर्ष पहिला कोरिया पुग्नु भएका बागलुङकोे कुश्मीशेराका भीमप्रसाद आचार्यले मनग्य आम्दानी गर्ने र सुखसँग दिन काट्ने सपना देख्नुभएको थियो । काठमाडौँमा बसेर लामो समयको मेहनतपछि भाषा परीक्षापास गरेर उहाँ कोरिया पुग्नुभयो । विदेशमा कमाइ गर्न सहज छैन भन्ने थाहा पाएपछि आचार्य दुई वर्षपछि घर फर्किनु भयो ।

कोरियमा भन्दा आफ्नै माटोमा मेहनत गर्ने योजनासहित आचार्य गाउँ फर्किनुभयो । उहाँले खोरिया खनेर कोरियाको कमाइ गर्ने अभियान थाल्नुभयो । आधुनिक खोर बनाएर बाख्रापालन गर्दै आउनुभएका आचार्यसँग २८ स्थानीय खरी जातका बाख्रा छन् । उहाँले १० बाख्रबाट बाख्रापालन थाल्नुभएको हो ।

व्यावसायिक रुपमा बाख्रापालन गर्दैआउनुभएका आचार्यले खोर बनाउँदा र बाख्रा किन्दा झण्डै रु तीन लाख खर्चिनुभएको थियो । ‘नागढुङ्गा बाख्रा फार्म’का सञ्चालक उहाँले कुखुरापालनसँगै तरकारीखेती गर्दै आउनुभएको छ ।

“बाख्राको मल हालेर तरकारीखेती गरिरहेको छु,” उहाँले भन्नुभयो । ब्रोइलर कुखुराको अण्डा आचार्यले स्थानीय बजारमा बिक्री गरेर पर्याप्त अम्दानी गर्दै आउनुभएको छ । “महीनैपिच्छे आम्दानी हुने भए पछि कुखरापालन र तरकारीखेतीसमेत गरिरहेको छु,” उहाँले भन्नुभयो । अहिले आचार्यको खोरमा रहेका बाख्रा र कुखुराले उहाँलाई कोरियाको झल्को मेटाएको छ । महीनामा खर्च कटाएर रु ३० हजार आम्दानी हुन्छ । उहाँको काममा श्रीमती हेमाले सहयोग गर्दै आउनुभएको छ् ।

आचार्यले आधुनिक मिनीटेलर हलोको प्रयोग गरी खेती गर्नुहुन्छ । पाँच मुरी कोदो फल्ने बारीमा केराका बिरुवा हुर्किँदै छन् । “झण्डै दुई सय केराको बिरुवा लगाएको छु,” उहाँले भन्नुभयोे, “दुई वर्षमा रु १५ लाखको केरा बेच्ने योजना छ ।” लगानी गरेर तत्काल फाइदा खोज्ने प्रवृत्तिका कारण नेपालमा मेहनत गर्नेको सङ्ख्यामा कमी आएको उहाँ बताउनुहुन्छ । समयअनुसारको आयमूलक खेती गर्ना आचार्यले सुझाव दिनुभयो ।