तेज–रत्न स्मृति पुरस्कार द्धरा उत्कृष्ट अंक ल्याउने चार विद्यार्थी पुरस्कृत

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

धौलागिरी बहुमुखी क्याम्पस बागलुङका बिभिन्न संकायमा उत्कृष्ट अंक ल्याउने चार जना विद्यार्थी पुरस्कृत भएका छन् ।

तेज–रत्न स्मृति पुरस्कार संस्थानले उनिहरुलाई जनहि ६ हजार रुपैयाँ पुरस्कार राशि सहित पुरस्कृत गरेको हो ।

क्याम्पसको स्नातक तहमा २०७१–७३ को अन्तिम परिक्षामा उत्कृष्ट नतिजा ल्याउने व्यवस्थापन संकायका पार्वति पाठक, बिज्ञान संकायका पुनम पुन, मानविकि संकायका राजेश बोहरा र शिक्षा शास्त्र संकायका अनिता कार्कीलाई पुरस्कृत गरीएको हो । संस्थानले प्रतयक बर्ष उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

समाजसेवी लालचन्द्र राजभण्डारी र कृष्णचन्द्र राजभण्डारीले आफ्नो माता पिताको स्मृतिमा स्थापना गरेको अक्षय कोषबाट पुरस्कार वितरण गर्दै आएको संस्थापक अध्यक्ष लालचन्द्र राजभण्डारीले जानकारी दिनुभयो ।

बागलुङका प्रमुख जिल्ला अधिकारी बेद प्रसाद खरेलले शुक्रबार एक समारोमा विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्नुभयो । पुरस्कार वितरण समारोहमा बोल्दै खरेलले पुरस्कारले विद्यार्थीहरुलाई हौसला बढाउन सहयोग पुग्ने बताउनुभयो । उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार दिँदा अन्य विद्यार्थीहरुलाई समेत पठन पाठनमा जिम्मेबार र मेहनत गर्न प्रेरणा मिल्ने भन्दै खरेलले बाबु आमाको नाममा संस्थान स्थापना गरेर पुरस्कार वितरण गर्नु पुण्यको काम भएको बताउनुभयो ।

कार्यक्रममा धौलागिरी बहुमुखी क्याम्पसका प्रमुख डा. रामप्रसाद उपाध्याय, साहित्यकार काजी रोशन, नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरीष, बिद्यामन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक जगन्नाथ आचार्य, नेपाल रेडक्रस सोसाइटी बागलुङका पूर्व सभापति विश्वनाथ रेग्मी, डा. कृष्णबहादुर श्रेष्ठ, पुरस्कृत विद्यार्थीहरु अनिता कार्की र राजेश बोहरा लगायतले बोल्नुभएको थियो ।

संस्थानका संस्थापक अध्यक्ष लालचन्द्र राजभणरीको अध्यक्षता, सचिव महेशचन्द्र प्रधानको सञ्चालन र समाजसेवी देवबहादुर श्रेष्ठको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । २०५० सालमा स्थापना भएको संस्थानले बर्षेनी पुरस्कार वितरण गर्दै आएको छ ।