भाडा समायोजनको माग

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठनले सार्वजनिक भाडादर समायोजनको माग गरेको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीमा पुगेका अनेरास्ववीयु र अनेरास्ववीयु क्रान्तिकारीले सदरमुकाम बेनी देखि लामो तथा छोटो दुरीमा सञ्चालन हुने सार्वजनिक सवारी साधनको भाडादर समायोजनको माग गर्दै ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
अनेरास्ववीयुका सुवास विश्वकर्मा र अनेरास्वीयु क्रान्तिकारीका गणेश सुवेदीको टोलीले प्रजिअ लीलाधर अधिकारीलाई ध्यानाकर्षणपत्र बुझाएको हो । इन्धनको मूल्य घटेपनि सार्वजनिक यातायातको भाडादर समायोजन नहुँदा यात्रु तथा सर्वसाधारण मर्कामा परेको उनिहरुको भनाई छ ।
उनिहरुले सार्वजनिक यातायातमा विद्यार्थीका लागि छुटको सुबिधा कार्यान्वयनको पनि माग गरेका छन् । प्रजिअ अधिकारीले भाडा समायोजनका लागि आगामी आइतबार यातायात व्यवसायी र सरोकारवालाहरुको बैठक बोलाइएको जानकारी दिनुभयो ।