बागलुङ उद्योग बाणिज्य संघमा पदाधिकारीको टुंगो लाग्यो

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

बागलुङ उद्योग बाणिज्य संघले पदाधिकारीको टुंगो लगाएको छ ।
मंसिर २१ र २२ गते सम्पन्न ५५ औं वार्षिक साधारणसभा तथा १५ औं महाधिवेसनबाट निर्वाचित सदस्य मध्येबाट पदाधिकारीको टुंगो लगाएको हो ।
संघको विधान बमोजिम निर्वाचित सदस्यहरुबाटै पदाधिकारीको चयन गर्ने व्यवस्था अनुसार संघका नवनिर्वाचित अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा शुक्रवार बसेको बैठकले बरिष्ठ उपाध्यक्षमा उमाकान्त शर्मा (बाबू), प्रथम उपाध्यक्षमा राजनकुमार शाक्य, द्धितिय उपाध्यक्षमा दीपक हमाल, उप–महासचिवमा थानेश्वर सुवेदी, कोषाध्यक्षमा श्रीजय श्रेष्ठ र सह–कोषाध्यक्षमा सीतादेवी शर्मा कडँेललाई चयन गरेको छ ।

जिम्मेवारी बाँडफाडँका लागि बसेको बैठकमा केही सदस्यहरु भने बिचमै बैठक बहिष्कार गरेका छन् । सदस्यहरु हेमबहादुर खत्री र अर्जुन चोखालले सघंको बिधानमा बरिष्ठ उपाध्यक्ष पद नै नभएको, १५ सदस्यीय भन्दा बढी बनाउन नपाउने व्यवस्था बिपरित कार्यसमिति बिस्तार गर्ने कार्य ठिक नभएकाले बिधान सम्मत हिसावले अघि बढ्न आग्रह गर्दा अपमानजनक व्यवहार गरेकाले बैठकबाट बिचमै बाहिरिएको बताएका छन् ।

सघंको केही साता अघि सम्पन्न अधिवेशनमा नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चा सम्वद्ध व्यवसायी एक प्यानल र नेपाल कम्युनिष्ट पार्टी सम्वद्ध र केही स्वतन्त्र व्यवसायीहरु बिच साझा व्यवसायिक प्यानल बनाएर चुनावी प्रतिस्पर्धा गरिएको थियो । निर्वाचनमा नेतृत्व सहित अधिकाशं सदस्यमा लोकतान्त्रिक व्यवसायिक प्यानल बिजयी भएका थिए भने ४ सदस्य साझा व्यवसायिक प्यानलबाट निर्वाचित भएका थिए ।