बन्दुक देखाएर लुटपाट गर्न खोज्ने तीन जना पक्राउ

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस २१, २०७५

म्याग्दीको मंगला गाउँपालिका ५ किमचौरमा बन्दुक देखाएर लुटपाट गर्न गएका एक महिला सहित तीन जनालाई स्थानीयबासीले पक्राउ गरेर प्रहरीलाई बुझाएका छन् ।

मंगला गाउँपालिका ३ झाँक्रेपानीका ३३ वर्षीय टेकेन्द्र छन्त्याल, ३२ वर्षीया माया छन्त्याल र झाँक्रेपानी घर भई हाल बागलुङको तमानखोला गाउँपालिका ४ बस्ने ५४ वर्षीया तिर्थलाल छन्त्याललाई स्थानीयबासीले बन्दुक सहित समातेर बुझाएका प्रहरी नायव उपरिक्षक बिरबहादुर बुढाले जानकारी दिनुभयो ।

उनिहरुलाई म्याग्दी जिल्ला अदालतबाट शुक्रबार सात दिनका लागि म्याद थप गरेर अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

किमचौरकी ६३ वर्षीया लिलामती बुढाथोकीको घरमा पुष १६ गते बन्दुक देखाएर लुटपाट गर्न गएका उनीहरुलाई बुढाथोकीले प्रतिकार गरेपछि भागेका थिए ।

बुढाथोकीले चिच्याएर हारगुहार गरेपछि गाउँलेहरुले समात्न खोजेपनि उनिहरुको पहिचान गरेका थिए । उनिहरु बिहीबार पुनःगाउँमा देखिएपछि किमचौरका युवा कल्व, आमा समूहको नेतृत्वमा समातेर प्रहरीलाई बुझाएका हुन् ।