बाङ्गेचौर मैदानमा ५ सय दर्शक क्षमताको प्याराफिट निर्माण सुरु

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५

बागलुङको बाङ्गेचौर खेलमैदानमा ५ सय ४० जना दर्शक क्षमताको फलामको प्याराफिट निर्माणकार्य सुरु गरिएको छ ।

जिल्ला फुटबल संघ बागलुङले बाङ्गेचौर खेलमैदानमा हुने फुटबल प्रतियोगितामा दर्शकहरुलाई सजिलोसँग हेर्नको लागि १६ लाखको लागतमा प्याराफिट निर्माण सुरु गरेको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले जिल्लाको फुटबल मैदानहरुको पूर्वाधार निर्माणको लागि १० लाख रुपैयाँ सहयोग गरेको र ६ लाख रुपैयाँ सहयोग संकलन गर्ने लक्ष्यका साथ मैदानमा प्याराफिट निर्माण गर्न लागिएको जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिनुभयो ।

३० मिटर लम्बाई, ६ मिटर चौडाई र ६ फिट उचाईको प्याराफिट ३ स्टेपको गराईएको छ । उक्त प्याराफिट ५ सय ४० जना दर्शक क्षमताको रहेको अनुमान गरिएको संघका कोषाध्यक्ष सुर्य लामिछानेले बताउनुभयो । यस्तै मैदानमा ३० जना बस्न मिल्ने एउटा मञ्च तयार गरिने संघका कोषाध्यक्ष लामिछानेले जानकारी दिनुभयो ।

बागलुङमा फुटबलको राम्रो क्रेज भएपनि बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताहरुमा दर्शकहरुले बस्ने सुविधा नहुँदा खल्लो हुने गरेको गुनासो रहेको थियो । मैदानमा प्याराफिटको निर्माण सुरुवात पछि प्रतियोगिताहरु व्यवसायिक हुने आशा गरिएको छ । संघका उपाध्यक्ष विकास थापाका अनुसार मैदानमा प्याराफिट निर्माण पछि जिल्लामा हुने प्रतियोगितामा टिकट सिस्टमको व्यवस्था गर्न सकिने बताउनुभयो । बागलुङमा हुने साना तथा ठूला फुटबल प्रतियोगिताहरुमा दर्शकहरुको उल्लेखनीय सहभागिता हुने गरेता पनि बस्ने स्थानको अभावले दर्शकहरुलाई असहज हुने गरेको थियो ।

मैदानमा प्याराफिट निर्माणको लागि जिल्ला फुटबल संघका पदाधिकारीहरु नै खटिएका छन् । आफै काम गर्दा लागतमा केही कमि आउने आशा र छिटो काम सम्पन्न हुने भएकाले कामदारहरुलाई सहयोग गरिरहेको संघका सहसचिव जया राजभण्डारीले जानकारी दिनुभयो ।
जिल्लामा मापदण्ड अनुसारको एक मात्र बाङ्गेचौर खेलमैदानलाई रंगशालाको रुपमा विकास गर्ने योजना बनाइए पनि त्यसको काम अझै अगाडी नबढेको अवस्थामा एन्फा बागलुङले दर्शकको लागि खेल हेर्न सक्ने सुविधा सम्पन्न प्याराफिट निर्माण अगाडी बढाउँदा फुटबलप्रेमी उत्साहित भएका छन् । बाङ्गेचौर खेलमैदानलाई रंगाशालाको रुपमा विकास गर्नको लागि जिल्ला खेलकुद विकास समिति र बागलुङ नगरपालिकाले डिपिआरको प्रक्रिया अगाडी बढाएका छन् ।