मौवाफाँटमा आधारभुत पत्रकारिता तालिम सुरु

-- जिवन थापा मगर / प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५

म्याग्दीको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँटमा बिहीबारदेखि आधारभुत पत्रकारिता तालिम सुरु भएको छ ।
गाउँपालिकाको आर्थिक, पत्रकार महासंघ म्याग्दी शाखाको प्राबिधिक सहयोग र म्याग्दी मिडिया सोसाइटीको आयोजनामा दुई दिन सञ्चालन हुने तालीममा ८ वटा वडाका २८ जनाको सहभागिता रहेको छ ।
वडा र बस्ती स्तरमा हुने गतिबिधि, समस्या र सम्भावनाको उजागर गरि पत्रकारिताको माध्यमबाट विकास, सुशासन र पारदर्शीता कायममा सघाउने उद्देश्यले आयोजित तालिमको गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारीले उद्घाटन गर्नुभयो । उद्घाटन पछि बोल्दै अध्यक्ष भण्डारीले स्थानीय तहको गतिबिधि, सेवा प्रवास, विकास, सुशासन र विकृति न्युनीकरणका लागि पत्रकारिता मार्फत सहयोगको अपेक्षा गरेको बताउनुभयो ।
उपाध्यक्ष कमला तिलिजाले स्थानीय तहको गतिबिधि, नीति तथा कार्यक्रम र सेवा प्रवाहलाई जनतासम्म पु¥याउन सञ्चार माध्यमको सक्रिय भुमिका र सहभागिता आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, प्रदेश सदस्य सन्तोष गौतम, अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापा, गाउँ कार्यपालिकाका प्रवत्ता जिवन मल्लले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्रीको अध्यक्षता, सचिव अमित विश्वकर्माको सञ्चालन र उपाध्यक्ष हरिकृष्ण गौतमको स्वागत मन्तब्यमा उद्घाटन कार्यत्रममा सम्पन्न भएको थियो । तालिमको पत्रकार महासंघ म्याग्दीका अध्यक्ष तारानाथ शर्मा, संस्थापक अध्यक्ष घनश्याम खड्का, प्रदेश सदस्य सन्तोष गौतम, शाखा उपाध्यक्ष ठाकुर आचार्य, सचिव गोरखनाथ सुवेदी, म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री र सचिव अमित विश्वकर्माले सहजिकरण गर्नुहुने जनाइएको छ ।