कपास उद्योगबाट मनग्य आम्दानी गर्दै उपल्लाचौरका श्रेष्ठ

-- जिवन थापा मगर / प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५

बागलुङ नगरपालिका ४ उपल्लाचौरका राजेन्द्र श्रेष्ठले कपास उद्योग व्यबसाय सुरु गरेको ३ वर्षमै मनग्य आम्दानी गर्न सफल हुनुभएको छ ।

जिन्स टे«लरमा जिन्स उत्पादन गर्ने काम गर्दै आएका श्रेष्ठले कपास बनाउने अनुभब लिए पछि कपास उद्योग संचालनमा ल्याउनुभएको हो । श्रेष्ठले पुराना कपडालाई प्रसोधन गरि कपासबाट बन्ने फाईबर सिरक, डस्ना, सिरानी, सुक्कल बनाउने गर्नुहुन्छ ।

२० लाख रुपैयाँको लगानीमा कपास उद्योग सञ्चालन गरि कपासबाट विभिन्न प्रकारका पुराना कपडाको सही सदुपयोग गर्दै नयाँ सामान बनाउन थालेपछि बागलुङ, म्याग्दी, पर्वत लगायतका स्थानबाट उत्पादित कपडाको माग आउने गरेको उहाँको भनाई छ ।

श्रेष्ठले आफ्नो दुई कपास उद्योगमा १५ जनालाई रोजगारी समेत दिनुभएको छ । श्रेष्ठले आफ्नो उद्योगमा काम गर्ने कामदारलाई खानाको सुविधा सहित मासिक १० हजार देखि २० हजार सम्म ज्याला दिने गरेको बताउनुभयो । बिदेश नगई स्वदेशमै बसेर व्यवसायी थाल्नुभएका उहाँले सबै खर्च कटाएर दुई कपास उद्योगबाट मासिक ८० हजार देखि १ लाखसम्म आम्दानी हुने गरेको बताउनुहुन्छ । “आफुमा भिजन, सिप र जाँगर भएपछि स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ, उहाँले भन्नुभयो, फोहोरलाई मोहोर बनाउने सिप आर्जन गरे पछि अहिले यसबाट धेरै आम्दानी गर्न सफल भएको छु, परिवारको पनि धेरै राम्रो साथ मिलेको छ ।”

व्यवसायमा सक्रिय र संर्घषशिल ४२ वर्षिय श्रेष्ठको ५ जनाको परीवार छ । उहाँको श्रीमतीले पनि सिरक डसना सिउने काममा सहयोग गर्नुहुन्छ । अहिले प्रति किलो ८ रुपैयामा कपास खरिद बिक्री हुन्छ भने ज्याला सहित एक सिरक बनाउँदा १५ सय सम्म लिइने गरिएको उहाँको भनाई छ ।