किसानलाई स्याउ खेती सिकाइँदै

-- जिवन थापा मगर / प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५

मुस्ताङका पाँच स्थानीय तहमध्ये स्याउ उत्पादनले पहिलो मानिएको घरपझोङ गाउँपालिकाका स्थानीय किसानलाई स्याउ खेती सिकाउन थालिएको छ ।

बर्षेनि हिउँदयामको पुसदेखि माघ दुई महिना स्याउ कटिङ गर्ने सिजनमा खेती गर्ने तरिका पनि सिकाउने गरिन्छ ।

स्याउ बिरुवा रोपेको दोस्रो वर्षदेखि र फल लाग्ने स्याउका बोट र पात पूर्णरूपमा झरिसकेपछि स्याउ बोटको हाँगा कटिङ गर्ने गरिन्छ । हिउँदयामको समयमा स्याउ बोटको पात झर्ने समय भएकाले पुस र माघ महिना उपयुक्त सिजन भएको वरिष्ठ बागवानी विकास अघिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँले स्याउ कटिङको ज्ञान प्राप्त नगरी हुबहु स्याउ कटिङ गर्दा उत्पादन क्षमतामा कमी हुने बताउनुभयो ।

स्थानीय किसानलाई स्याउ कटिङसम्बन्धी तालिम दिएर फुर्स्दिलो समयमा व्यावसायिक बनाउने उद्देश्यले घरपझोङ गाउँपालिका ४ को कृष्णगण्डकी कृषक समूहले स्याउ कटिङ तालिम आयोजना गरेको हो । गाउँपालिकाको समन्वय तथा बागवानी विकास केन्द्र मार्फाको प्राविधिक सहयोगमा स्थानीय किसानलाई फिल्डमै पुगेर तालिम दिइएको समूहका अध्यक्ष राजेन्द्र शेरचनले जानकारी दिनुभयो । एकदिने तालिमले गाउँपालिकाका किसान स्याउ कटिङ गर्ने विधि र औषधिको प्रयोगबारे जानकारी लिएका छन् ।

बिरुवा रोपेको दोस्रो वर्षमा स्याउ कटिङ गर्ने, स्याउ कटिङ गर्दा जमिनबाट दुई फिटभन्दा माथि मात्र हाँगा राख्ने बागवानी विकास केन्द्र मार्फाका वरिष्ठ बागवानी विकास अधिकृत बालकृष्ण अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार स्याउ कटिङ गर्दा स्याउका हाँगा राख्दा चारैदिशा फैलिने गरी कटिङ गर्नुपर्ने, चारै दिशा नभए जुटको डोरीले जमिनमा किलो गाडेर हाँगालाई नियन्त्रणमा राख्नुपर्ने, कटिङ गर्दा भएका ठूला ठूला घाउ बोडो पेस्ट बनाएर लगाउने, कटिङ गरिएका हाँगा र ठुटाको व्यवस्थापन गर्ने, फल फल्ने छोटा मुनाहरू नहटाउने, कटिङ गरेपछि पुरै बोट भिज्नेगरी बोडो मिश्रण स्प्रे गर्ने र काटेका ठूला घाउ र फेदमा बोडो पेस्ट बनाई लगाउनु पर्दछ ।

तालिममा सहभागी ३२ जना सहभागी किसानले स्याउ कटिङ गर्ने तरिकाबारे जानकारी प्राप्त गरेको गाउँपालिकाकी प्राविधिक विष्णु भट्टराईले जानकारी दिनुभयो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्र्तगत मुस्ताङका पाँचवटै स्थानीय तहलाई स्याउ जोनमा सूचीकृत गरिएको हो । स्याउको राजधानीले चिनिएकोे मुस्ताङमा स्याउ उत्पादनको मुख्य केन्द्र मार्फालाई लिने गरिएको छ । जलवायु परिवर्तनका कारण उपल्लो मुस्ताङमा पनि स्याउ उत्पादनमा प्रगति भएको स्याउ जोनका सूचना अधिकारी शिवपुजन गुप्ताले जानकारी दिनुभयो ।