प्रथम पञ्चबर्षिय योजना तर्जुमाका लागि सुझाव संकलन

-- जिवन थापा मगर / प्रकाशित मिति : शुक्रबार, पुस २०, २०७५

प्रदेश नीति तथा योजना आयोगले प्रथम गण्डकी प्रदेशको पञ्चबर्षिय योजनाका लागि बागलुङमा बिहिवार सुझाव संकलन गरेको छ ।

आर्थिक विकास र गरिबी निवारण, कृषि सहकारी, बन तथा वातावरण, भौतिक पुर्वाधार, सामाजिक सेवा र अन्तर सम्बन्धित बिषय गरी ५ वटा समुह छुट्याएर गरिएको छलफलमा सहभागीले बागलुङलाई कृषि, पुर्वाधार, आर्थिक विकास, जलविद्युत लगायतका क्षेत्रलाई बिशेष प्राथमिकतामा राख्न आग्रह गरेका थिए ।

रेमिट्यान्स, निजी क्षेत्र र सहकारीको उत्पादनशिल क्षेत्रमा लगानी, बाझा जग्गाको उपयोग, निर्वाहमुखी नभई हरेक क्षेत्रमा आयआर्जन बढाई आत्मनिर्भर बन्ने बनाउने गरि आयोजना निर्माण गर्नुपर्नेमा कार्यक्रममा सहभागी जनप्रनिनिधि, कर्मचारी, सामाजिक सघं संस्थाका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरुको जोड थियो । अब बन्ने योजनामा आयात प्रतिस्थापनको योजना र त्यही अनुसारको कार्यक्रम र आधार तयार गर्नुपर्ने सहभागीले सुझाव राखेका थिए ।

कार्यक्रममा आयोगका उपाध्यक्ष गिरिधारी शर्मा पौडेलले गण्डकी प्रदेशमा बिकास सुचकहरुको अवस्था र आवधिक योजनाले सम्बोधन गर्नुपर्ने बिषयमा सहजिकरण गर्नुभएको थियो । उहाले बागलुङ जिल्लामा कुल जनसंख्याको २२.९ प्रतिशत आर्थिक गरिबी र २७.९ ५ प्रतिशत मानविय गरिबी रहेको जानकारी दिनुभयो । बैँक तथा वित्तिय संस्थाहरुले दीर्घकालिन रुपमा ठुलो रकम लगानी गर्ने वातावरण नभएको भन्दै व्यापार व्यवसाय तथा घरघडेरीहरुमा लगानी भएपनि उत्पादनशिल क्षेत्रमा नभएको बताउनुभयो । २०७४ को तथ्याङक अनुसार गण्डकी प्रदेशमा ४ लाख विदेशी पर्यटक र ६ लाख आन्तरिक पर्यटक आएकाले पर्यटनको क्षेत्रबाट पनि आय स्तर बृद्धि गर्न सकिने सम्भावना रहेको बताउनुभयो ।
यस प्रदेशमा २२.२ प्रतिशत कृषि योग्य जमिन रहेको र त्यस मध्य ७६ प्रतिशतमा खेती भएपनि २४ प्रतिशत बाँझो रहेको जानकारी दिनुभयो । ३६.१ प्रतिशत जमिनमा सिचाई सुविधा पुगेको तथ्याङक छ ।

यस्तै बागलुङमा रहेको कृषि योग्य जमिन मध्य ३४ प्रतिशत जमिन बाँझो रहेको पाइएको छ । गण्डकी प्रदेशमा ५ बर्ष मुनिका २९ प्रतिशत बच्चामा कुपोषण रहेको बताइएको छ । यस्तै १५ देखि ४९ बर्षका २८ प्रतिशत महिला र पाँच बर्ष मुनिका ४६ प्रतिशत बालबालिकामा रक्तअल्पता रहेको तथ्याङक सार्वजनिक गरिएको छ । गण्डकी प्रदेशमा १५ देखि ५९ बर्षका ३० प्रतिशत र १५ देखि २४ बर्षका ४१ प्रतिशत युवा अर्थबेरोजगार रहेको पनि पौडेलले जानकारी दिनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका राजनीतिक सल्लाहकार गोविन्द नेपालीले लामो समयको राजनीतिक अन्यौलता पछि मुलुक विकास र समृद्धिको युगमा प्रवेश गरेकाले अब दिर्घकालीन योजना निर्माण गरेर अघि बढेमा मात्र विकासले गति लिने बताउनुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटाले यस प्रदेश भित्र विशेषगरी कृषि र पर्यटनबाट लाभ लिन सक्ने सम्भावना भएकाले सबैको ध्यान यसतर्फ जानुपर्ने बताउनुभयो । सरकारले नीति नियम बनाउने र निजी क्षेत्रले आवश्यक स्थानमा लगानी गर्ने वातावरण सिर्जना हुनुपर्ने उहाँको भनाई छ ।