चिप्लेटी बसपार्क नगरपालिकालाई हस्तान्तरण

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस १४, २०७५

बागलुङ नगरपालिका—३ स्थित चिप्लेटी बसपार्क बागलुङ नगरपालिकालाई हस्तान्तरण गरिएको छ । बसपार्क व्यवस्थापन समितिले शनिबार बागलुङमा एक कार्यक्रमको आयोजना गरी बसपार्क नगरपालिकालाई हस्तान्तरण गरेको हो ।

करिब एक दशक यता स्थानीयले व्यवस्थापन समिति निर्माण गरेर सञ्चालन गर्दै आएको बसपार्क नगरपालिकालाई हस्तान्तरण गरिएका समितिका अध्यक्ष दिलबहादुर कार्कीले बताउनुभयो ।

एक दसकसम्म हामीले निशुल्क रुपमा बसपार्क व्यवस्थापन गर्दै आएका थियौं, सार्वजनिक सौचालय निर्माण गरेर सरसफाई शुल्क बाहेक हामीले अन्य कुनै पनि शुल्क लिएनौं,’ उहाँले भन्नुभयो, ‘बस व्यवसायी समितिबाट काउन्टर स्थापना गर्नेबेला प्रति समितिबाट एक लाखका दरले शुल्क लिएको हो । त्यस बाहेकको हामीले कुनै शुल्क नलिई काम गर्दै आएका थियौं ।’ विभीन्न क्षेत्रबाटसंगै बागलुङ नगरपालिकाबाट समेत सहयोग पाउने भनि बसपार्क ढलान गरेपछि नगरपालिकाले रकम निकासा गर्न आनाकानी गर्ने गरेको उहाँको गुनासो छ, पहिले सरकारी संयन्त्र बलियो नभएकाले हामी आफैले व्यवस्थापन गरेका थियौं, उहाँले भन्नुभयो, अहिले नगरपालिकामा जनप्रतिनिधि आउनुभएको छ, यसको व्यवस्थापन स्थानीय सरकारले गरोस् भनेर हस्तान्तरण गरेका हौं ।’

चिप्लेटीमा बसपार्क निर्माण भएपछि त्यस क्षेत्रमा गुल्जार भएकाले नयाँ बसपार्क बनेपछि त्यस क्षेत्रमा फेरि शून्य हुने अवस्था आउन नदिन समेत स्थानीयले माग गरेका छन् । बसपार्क स्थापना भएपछि यो एक दशकको बीचमा त्यस क्षेत्रमा व्यवसाय फस्टाएको छ,’ बसपार्क व्यवस्थापन समितिका नबिन किसानले भन्नुभयो, नयाँ बसपार्क बन्ना साथ त्यो क्षेत्रलाई ओझेलमा पार्ने काम नहोस् ।’

बसपार्कको हिसाब किताब बुझेपछि बागलुङ नगरप्रमुख जनकराज पौडेलले विभीन्न क्षेत्रको अध्ययन गरेपछि एउटा मूल्य कायम गरेर बसपार्क व्यवस्थापनका लागि टेन्डर आह्वान गर्ने जानकारी दिनुभयो । ‘केही समय हामी अध्ययन गर्छौं, अन्तको के कस्तो शुल्क छ त्यसलाई आधार बनाएर बसपार्क सञ्चालनका लागि टेन्डर आह्वान गर्नेछौं,’ उहाँले भन्नुभयो, बसपार्क जस्तो कुराको व्यवस्थापन नगरपालिका आफैले गर्ने भन्ने कुरा सम्भव हुँदैन । अहिलेलाई हामीले जिम्मा लिएका छौं ।’

बानपा—४ उपल्लाचौरमा सुविधा सम्पन्न बसपार्क निर्माणका लागि टेन्डर भएर काम अगाडी बढिसकेकाले चिप्लेटी बसपार्कलाई त्यसपछि अर्को प्रयोजनका लागि उपयोग गरिने उहाँले बताउनुभयो । ‘हामीले अहिलेको बसपार्क भएको ठाउँमा सुविधा सम्पन्न सिटीहल बनाउने सोंचमा थियौं,’ पौडेलले भन्नुभयो, तर त्यहाँको भौगोलिक अवस्थाले त्यो सम्भव देखिएन । बसपार्क सरेपछि पहिलेझै सुनसान हुने त होईन भन्ने तपाईहरुको जुन चिन्ता छ हामी त्यसो हुन दिँदैनौं ।’

बसपार्क हस्तान्तरण कार्यक्रमा गण्डकी प्रदेश सांसद ईन्द्रलाल सापकोटाले स्थानीय सरकार आएपछि यहाँको समस्याहरुको समाधान जिम्मा स्थानीय सरकारको काँधमा आएको बताउनुभयो । ‘लामो समयसम्म राजनीतिक संक्रमणकालका कारण सबै तिर लथालिङ्ग भएको अवस्था थियो,’ उहाँले भन्नुभयो ,‘अब तीन तहको निर्वाचन भएपछि यहाँका स्थानीय समस्याहरु समाधानका लागि नगरपालिकाको काँधमा जिम्मेवारी आएको छ । अहिलेसम्म स्थानीयले राम्रोसंग व्यवस्थान गरेको बसपार्क नगरपालिकाले पनि राम्रो बनाउने विश्वास छ ।’

धौलागिरि अञ्चल यातायात बस व्यवसायी समितिका अध्यक्ष उमेश केसीले चिप्लेटीमा बसपार्क निर्माण भएपछि स्थानीयमा चेनताको समेत विकास भएको बताउनुभयो । कार्यक्रम बसपार्क व्यवस्थापन समितिका अध्यक्ष डिलबहादुर कार्कीको अध्यक्षता, लिला खड्काको स्वागत मन्तव्य र नविन किसानको सञ्चालनमा सम्पन्न भएको थियो ।