कार्यालय प्रमुख तथा पत्रकारहरुवीच भेटघाट

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, पुस ८, २०७५

गलुङ जिल्लाका सरकारी कार्यालयहरुले गत महिनाको एक साथ प्रगति बिवरण सार्वजनिक गरेका छन् ।

जिल्ला प्रशासन कार्यालय बागलुङको आयोजनामा भएको जिल्ला स्थित सरकारी कार्यालय तथा सार्वजनिक संस्थानका प्रमुख तथा सूचना अधिकारीले पत्रकार भेटघाट मार्फत गत मंसिर महिनामा भएको प्रगति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा जिल्ला प्रशासन कार्यालयले मंसिर महिनामा ४ सय ५२ वटा नागरिकता, २ सय ४६ नागरिकताको प्रतिलिपी र २ सय ९७ वटा राहदानी बितरण गरेको प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार, राहदानीका लागि ४ सय २७ वटा दुत्र सिफारिस गरिएको छ । कार्यालयमा एक महिनाको अवधिमा १२ वटा आपराधिक घटना भएकोे र ४० जनालाई दैवी प्रकोप राहत बितरण गरिएको प्रशासनले जनाएको छ ।
आन्तरिक राजश्व कार्यालयले मंसिर महिनामा ३ करोड २ लाख ७४ हजार राजश्व संकलन गरेको जनाएको छ । यस महिना सम्म कुल १९ करोड ४१ लाख ८३ हजार राजश्व संकलन भएको जानकारी समेत गराएको थियो ।

यातायात व्यवस्था कार्यालय धौलागिरीले मंसिर महिनामा ३ सय ५ जना मोटरसाइकलको प्रयोगात्मक परिक्षामा सहभागी भएकोमा १ सय ४ जना मात्र उतिर्ण भएको जानकारी दिएको छ । स्कुटीमा ३० जना सहभागी भएकोमा सबै उतिर्ण भएको बताइएको छ ।

कार्यक्रममा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय, संघिय सडक सुपरिक्षण तथा अनुगमन कार्यालय पोखरा, जिल्ला कारागार, शहरी विकास तथा भवन कार्यालय, नापी कार्यालय, भेटेरिनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र, जिल्ला शिक्षा, घरेलु तथा साना उद्योग विकास समिति मुख्य कार्यालय, जलस्रोत तथा सिञ्चाई विकास डिभिजन, राष्टिय पुर्ननिर्माण प्राधिकरण, धौलागिरी अञ्चल अस्पतालका कार्यालय प्रमुख तथा सूचना अधिकारीले प्रगतिबारे जानकारी दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी बेदप्रसाद खरेलले जिल्लाको सुशासन, जवाफदेहिता र पारदर्शिताका लागि सामुहिक रुपमा यस्तो पहल थालिएको बताउनुभयो ।
कार्यक्रममा कार्यालय प्रमुखहरुका तर्फबाट लोकसेवा आयोग धौलागिरीका निर्देशक गणेश पौडेलले सूचना प्रवाहका बिषयमा गरिएको भेटघाटले नागरिकको सूचना पाउने अधिकार स्थापित गर्न टेवा पुग्ने धारणा राख्नुभयो ।

नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीष र सूचाना अधिकारीहरुका तर्फबाट स्वास्थ्य कार्यालयका सूचना अधिकारी घनश्याम सापकोटाले सूचनाको आदान प्रदान र यसको सही सदुपयोग गर्न सके सुशासन र सकरात्मक सन्देश प्रवाह हुने बताउनुभयो ।

कार्यक्रम जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत केशव लामिछानेको स्वागत मन्तव्य तथा अर्का प्रशासकीय अधिकृत धिरेन्द्रराज पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।