विद्यार्थीद्वारा आगलागी पीडितलाई सहयोग

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शनिबार, पुस ७, २०७५

म्याग्दीको विमस्थित किसानी माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर आगलागी पीडितलाई रु १२ हजार बराबरको राहत सामग्री प्रदान गरेका छन् । पश्चिम म्याग्दीको मालिका गाउँपालिका–६, दिच्यामस्थित आगलागीपीडित कूलबहादुर भण्डारीलाई स्थानीय किसानी माध्यमिक विद्यालयका विद्यार्थीहरूले सङ्कलन गरेका रकमबाट राहत उपलब्ध गराइएको हो ।

सहयोगी संस्था युरेसका पदाधिकारी र शिक्षक पीडित भण्डारीको घरमै पुगेर वडा सदस्य कर्णबहादुर रोकाको उपस्थितिमा राहत सामग्री प्रदान गरिएको शिक्षक लक्ष्मीकान्त जैसीले जानकारी दिनुभयो । विद्यार्थी र शिक्षकहरूले आफूले खाने एक दिनको खाजा खर्च कटाउनाका साथै आ–आफ्ना अभिभावकबाट थप रकमसमेत सङ्कलन गरी सहयोग गरिएको बताइएको छ ।

दिच्यामका भण्डारीको बुधबार बिहान अचानक घरमा आगलागी भएको थियो । आगलागीबाट दुईतले घर र घरभित्र रहेका अन्नपात तथा खाद्यान्न लगायत सामग्री जलेर नष्ट भएको थियो । अहिले पीडित भण्डारीको परिवार छिमेकीको घरमा बसेका छन् ।