क्यान्सरबाट मृत्यु भएका पुर्जाको परिवारलाई ३ लाख सहयोग

-- धौलागिरी एफएम संवाददाता, म्याग्दी / प्रकाशित मिति : शनिबार, पुस ७, २०७५

घाँटीमा क्यान्सर भएर मृत्यु भएका म्याग्दी रघुगङ्गा गाउँपालिका–६ पाखापानीका धनमान पुर्जाको परिवारलाई बेलायतबाट रु तीन लाख ४१ हजार सहयोग प्राप्त भएको छ । घरको आर्थिक अवस्था कमजोर रहेका स्व. पुर्जाको परिवारको पालनपोषण र शिक्षाका लागि युके–पाखापानी समाजका अध्यक्ष कूलबहादुर शेरपुञ्जाबाट रु दुई लाख र बेलायतमा रहेका नेपालीबाट एक लाख ४१ हजार गरीे रु तीन लाख ४१ हजार सङ्कलन भएको थियो ।

सहयोग रकम शुक्रबार युके–पाखापानी समाजका सदस्य जीतबहादुर शेरपुञ्जा र रघुगङ्गा–६ पाखापानीका वडाध्यक्ष मनकुमार शेरपुञ्जाले स्व. पुर्जाकी श्रीमती दालशुभा पुर्जालाई हस्तान्तरण गर्नुभएको छ । स्व. पुर्जाका श्रीमती, तीन छोरा र एक छोरी छन् । बाह्र वर्षका जेठा छोरा अपाङ्ग छन्भने अरु सानै छन् । उनीहरूको शिक्षाका लागि आर्थिक अभाव नहोस् भनेर सहयोग गरिएको उहाँले बताउनुभयो ।