जनताका काममा भ्रष्टाचार हुन दिन्नः नेपाली

-- धौलागिरी एफएम संवाददाता,बागलुङ / प्रकाशित मिति : शनिबार, पुस ७, २०७५

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले शिक्षा र स्वास्थ्यको पहुँचमा सबै जनतालाई ल्याउने प्रमुख चुनौती भएको बताउनुभएको छ । उहाँले भौगोलिक कठिनाई, सिमित साधन श्रोत र बजेटबाट सबै जनतालाई स्वास्थ्य र शिक्षाको सेवा पु¥याएर छाड्ने बताउनुभयो ।

शनिबार भएको पत्रकार साक्षात्कार कार्यक्रममा बोल्दै नेपालीले जनतालाई केन्द्रमा राखेर काम गर्दा राजनीति गर्ने नेताले देखि नसहेको टिप्पणीपनि गरेका गर्नुभएको छ । ‘मैले भ्रष्ट्राचार गर्दिन, गरिव र दलीतको आँखाको आँसु पुच्छ खोज्दा राजनीतिक नेतृत्वमा असन्तुष्टी बढेको छ’ उहाँले भन्नुभयो, ‘मैले जनता र गरिबको पक्षमा राजनीति गर्छु, अरुले फाइदाको राजनीतिक गर्न खोज्दा असन्तुष्टी छ ।’

उहाँले आफ्नो कार्यकालमा ढोरपाटनका गरिब, बिपन्न र दलीत जनताको आँसु पुछेर छाड्ने बताउनुभयो । निर्वाचनको समयमा गरेको प्रतिवद्धता पुरा गर्न रातदिन लागेको उहाँले दाबी गर्नुभएको छ । ‘मैले असक्त, बृद्ध र बिधवा महिलालाई निशुल्क यातायातको व्यवस्था गर्छु भनेको थिएँ, त्यसका लागि केही कार्यविधि पुरा नभएकोले रोकिएको छ’ उहाँले भन्नुभयो, ‘हरेक वडालाई लक्षित समूहको परिचयपत्र बनाएर ल्याउन भनेको छु, आएपछि लागू हुन्छ ।’

कृषितर्फ आलुको बजारीकरण, कोल्ड स्टोर निर्माण, परंपरागत बालीको रुपमा कोदो संरक्षण जस्ता काम थालेको उनले बताउनुभयो । संरक्षण गर्नेलाई प्रोत्साहन दिने, बीउका लागि अनुदान दिने काम गरिने उहाँले बताउनुभयो । त्यस्तै सरसफाई अभियान संचालनका लागि नगरभित्रका सबै गल्ली कालोपत्रे गर्ने, नाली निर्माण र फोहोरमैला व्यवस्थापन गर्न लागेको बताउनुभएको छ ।

त्यस्तै तुरतुरे पहिरोको बिनासलाई शक्तिमा बदलेर पर्यटकीय गन्तव्य बनाउन लागेको सुनाउनुभयो । त्यस्तै डुवानमा परेका घर आँफूले बनाईदिने घोषणा गरेको र काम थालिसकेको बताउनुभएको थियो । उहाँले ढोरपाटनको नवी गाउँमा लागेको आगोबाट पिडित ४८ घरपरिवारलाई व्यक्तिगत रुपमा छाना छाईदिने दाबी पनि गर्नुभयोे । यसअघि पनि उहाँले सयौं बिपन्नको घर छाएको बताउनुभयो । आगोलागी पिडितलाई एक÷एक लाख रुपैयाँ अनुदान नगरपालिकाबाट दिने निर्णय भैसकेको उहाँले बताउनुभयो ।

पत्रकार सम्मेलनमा उहाँले आफूमाथी लागेका कतिपय आरोपको खण्डन पनि गर्नुभएको थियो । मापदण्ड बिपरितको घर बनाएको भन्ने आरोपबिरुद्ध उहाँले पोखराबाट बिशेषज्ञ ल्याएर माटो परिक्षणपछि घर बनाएको दाबी गर्नुभयोे । उहाँले बुर्तिवाङमा ७ तले घर बनाउनुभएको छ । उक्त घरमा डिपार्टमेन्ट स्टोर राख्ने योजना उहाँले सुनाउनुभयो । साथै सुबिधा सम्पन्न होटल बनाउने पनी उहाँको योजना छ । घरको छतमा हेलिप्याड बनाउने कुरालाइ उहाँले जनताको सेवाका लागि बनाएको दाबी गर्नुभयोे ।
तत्काल काम सकेर ढोरपाटनको हवाई मैदान सहजै संचालन गर्ने योजना बनाएको नेपालीले सुनाउनुभयो । त्यसका लागि सडक कालोपत्रे गर्ने र त्यसबाट म्याग्दी, रुकुम र बागलुङका मानिसले सेवा पाउने उहाँले बताउनुभयो । उत्तरगंगा जलविद्युत आयोजनाबाट सबैलाई फाइदा पुग्ने साझा बाटो खोज्न पहल गरेको समेत उनले स्पष्ट पार्नुभएको थियो । क्लबका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सदस्य कोपिला कंडेलको संचालन र प्रदिप पन्तको धन्यवाद ज्ञापनमा कार्यक्रम सम्पन्न भएको थियो ।