“सहकारीहरु आर्थिक समृद्धिको मुल खम्बा”- सापकोटा

ईमेज सहकारीको छैठौ बार्षिकोत्सव सम्पन्न
-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शनिबार, पुस ७, २०७५

ईमेज बचत तथा ऋण सहकारी संस्थाको छैठौ बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सदस्य इन्द्रलाल सापकोटाले सहकारीहरु आर्थिक समृद्धिको मुल खम्बा भएको बताउनुभयो । सापकोटाले सरकारले लिएको सरकारी, सहकारी र नीजि गरी तीन खम्बे अर्थनीतिमा सहकारी जनताको पक्षको खम्बा भएको बताउनुभयो । सरकार र नीजि क्षेत्रको लगानी भन्दा सर्वसाधारण जनताको लगानी पर्ने क्षेत्र सहकारी भएको भन्दै उहाँले सहकारीबाटै हरेक क्षेत्रको उत्पादनमा जोड दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले सहकारीहरु बैंकको बिकल्पको रुपमा आएको भन्दै गरिब जनताले बैंकको पहुँचमा पुग्न नसक्दा सहकारी आएको बताउनुभयो । प्रजातान्त्रिक समाजवादका लागि पनि सहकारीको बिकास आबस्यक भएको भन्दै उहाँले धनि र गरिबको खाडल अन्त्य गर्न सहकारीहरु संसारमै सफल भएको बताउनुभयो ।
सहकारीका अध्यक्ष देवकुमार नेपालीले बैंकको ऋण र व्याज तिर्न नसकेका गरिब र दलीतको हितमा सहकारीहरु लाग्न सकेमा देशलाई समृद्धिको बाटोमा हिडाउन सकिने बताउनुभयो । उहाँले हजारौं मेगावाट बिद्युत समेत सहकारीबाटै उत्पादन गर्न सकिने भन्दै त्यसका लागि सहकारीहरुको पनि सहकारी आवस्यक भएको बताउनुभयो । एकले अर्कोलाई सिध्याउने भन्दा मिलेर लगानी बढाउने अभियान चाल्नुपर्ने समेत उहाँले बताउनुभयो । ६ बर्ष अघि स्थापना गर्दा इमेज सहकारी प्रति उठेका प्रश्नहरु अहिले आएर आँफै उत्तरमा परिणत भएको पनि उहाँको दावी थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, साहित्यकार काजी रोशन, सहकारीकर्मी देवबहादुर श्रेष्ठ लगायतले बोल्नुभएको थियो । नेपालीको अध्यक्षता, सुमन सुनारको संचालन र धनबहादुर परियारको स्वागतमा सम्पन्न साधारणसभामा अध्यक्ष देव नेपालीले आर्थिक बर्ष २०७४/०७५ को लेखा परिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन अनुसार सहकारीले एकबर्षको अवधिमा ३ करोड ११ लाख ८०हजार रुपैयाँ आम्दानी गरेको देखिएको छ ।
साधारणसभाकै अवसरमा सावोकृष्ठ र उत्कृष्ठ बचतकर्ताहरुलाई सम्मान गरिएको थियो । संस्थाको बागलुङ, पोखरा, गलकोट र बुर्तिवाङ शाखामा कार्यरत कर्मचारी मध्येबाट उत्कृष्ठ कर्मचारीलाई पनि सम्मान गरिएको थियो । सहकारीले नाफाबाट सदरमुकाममा संचालित मानवसेवा आश्रमलाई २५ हजार र नेपाल पत्रकार महासंघको भवन निर्माणका लागि १ लाख १ हजार रुपैयाँ सहयोगको घोषणा समेत गरिएको थियो । अध्यक्ष नेपालीले उक्त उद्घोष गर्नुभएको हो । नेपालीले जनप्रतिनिधिको हैसियतले पनि सामाजिक क्षेत्रमा लगानी गरेको बताउनुभयो ।