यसरी मनायो धौलागिरी एफएमले १४ औं बार्षिकोत्सव

-- बागलुङ / प्रकाशित मिति : मङ्लबार, कार्तिक २७, २०७५

धौलागिरिको पहिलो बिद्युतीय संचार माध्यम धौलागिरि एफएम स्थापनाको १५औँै बर्षमा प्रवेश गरेको छ ।
२०६१ साल कार्तिक २७ गतदेखि आफ्नो प्रशारण शुरु गरेको एफएमले १४ औं बार्षिकोत्सव त्रिदिवसीय कार्यक्रम सहित मनाएको छ ।
बार्षिकोत्सव समारोहमा सहभागीहरुले धौलागिरी एफएमले बिगतदेखी बर्तमान सम्म खेलेको सन्तुलित भुमिका प्रशंसनीय भएको बताएका थिए । उनीहरुले प्रविधिको तिव्रतर विकासका बिच पनि धौलागिरीको छुट्टै पहिचान र बिश्वसनीयता कायम राखेको भन्दै अब आफ्नो प्रसारण क्षमता बढाउन सुझाव दिएका थिए । बिहान उठेदेखी धौलागिरी एफएम सुनेर खवर अपडेट हुने बानी परेको उल्लेख गर्दै बदलिदो समय सँगै बदलिएका जनचाहना अनुसार समाचार र कार्यक्रममा खोज, सिर्जनशिलता एफएमले देखाउनु पर्नेमा पनि सहभागीको जोड थियो ।
सामान्यताः जिल्लामा हुने औपचारिक कार्यक्रम भन्दा केही पृथक शैलीमा सञ्चालन गरिएको समारोहमा दर्शक दिर्घामा रहेका अतिथी, सहभागीहरुले पनि पालैपालो शुभकामना र सुझाव राखेका थिए ।
कार्यक्रममा बोल्दै बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेलले धौलागिरी एफएम धौलागिरीको पहिलो मात्र नभएर अगुवा र जनमानसमा भुमिकाले स्थापित रेडियो भएको बताउनुभयो । ‘नेता जनप्रतिनिधिको बिचमा पनि धौलागिरी एफएमको बारेमा बेला बेलामा चर्चा हुन्छ, बिहान ५ बजेदेखी साढे ७ बजे सम्म यो एफएम सुने खबरमा अपडेट हुन सकिन्छ,’ उहाँले भन्नुभयो,‘ यसले बिगतको काला दिनहरु, जनआन्दोलनमा पनि खेलेको भुमिका स्मरण योग्य छ, आगामी दिनमा पनि आफ्नो भुमिकाले धौलागिरीबासिको मन जित्न सफल रहोस् ।
बागलुङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद पोखरेलले सञ्चार माध्यमले आफ्नो भुमिकालाई प्रभावकारी बनाउन समाजमा सभ्यता, सुसंस्कार र सुशासन कायम हुने भएकाले धौलागिरी एफएमले आफ्नो गौरवाशाली बिगतको जगमा अब पनि भुमिका खेल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिपक रेग्मी, काठेखोला गाँउपालिकाका अध्यक्ष अमर थापा, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गणेश, पौडेल, नेपाली काङ्गे्रसका जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, नेपाल कम्युनिष्ट पार्र्टी जिल्ला संयन्त्रका सदस्य लालबहादुर थापा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमममा धौलागिरी एफएम प्रालिका अध्यक्ष हरिनारायण गौतमले धौलागिरीभर प्रष्ट सुनिने गरि प्रसारण क्षमता अभिवृद्धिका लागि अहिले प्राविधिक रुपमा अध्ययनका क्रममा रहेको र छिट्टै प्रसारण क्षमता र गुणस्तर बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सो अवसरमा धौलागिरी एफएममा स्थापनाकाल देखी हाल सम्म निरन्तर कार्यक्रम सञ्चालन गर्दै आउनुभएका पवन खड्कालाई दोसल्ला ओढाएर नगद ३ हजार सहित सम्मान गरिएको थियो । २०६१ सालदेखी कार्यरत खड्काले धौलागिरी एफएममा अनवरत रुपमा हरेक शुक्रवार राति ९ः३० मा गितिकथा र शनिवार राति ९ः३० मा कृति बगल उपन्यास बाचन कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । यि दुवै कार्यक्रम पर्वतको रेडियो पञ्चासे मार्फत समेत प्रसारण हुँदै आएको छ । सोही कार्यक्रममा बार्षिकोत्सवका अवसरमा प्रकाशित ‘दश स्थानीय तह, दश उत्कृष्ट काम’ विशेषशांक सार्वजनिक समेत गरिएको थियो ।

कार्यक्रममा सञ्चार र प्रविधिको उपयोग र आवश्यकता बिषयक बत्तृत्वकला प्रतियोगितामा बिजयी र मैत्रीपुर्ण फुटवल प्रतियोगितामा बिजयी नेपाल पत्रकार महासंघलाई पुरस्कार तथा मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रम धौलागिरी एफएम बागलुङका अध्यक्ष हरीनारायण गौतमको अध्यक्षता, एफएमका सञ्चालक उमाकान्त शर्माको स्वागत मन्तव्य र स्टेशन म्यानेजर दिल शिरिषको सञ्चालनमा सम्पन्न भएको थियो ।
१४ औँ बार्षिकोत्सवको अवसरमा धौलागिरि एफएम प्रा.लिले सम्पूर्ण स्रोता, बिज्ञापनदाता, बिज्ञापन एजेन्सी संचालक सदस्य, शेयर सदस्य, कर्मचारी लगायत शुभेच्छुक महानुभावहरुमा एफएमलाई उत्कृष्ट विद्युतिय संचार माध्यमको स्थानमा पु¥याउन सहयोग गर्ने सबैमा शुभकामना सहित धन्यवाद व्यक्त गरेको छ ।
२०६१ कात्तिक २७ गतेदेखि प्रशारण शुरु भएको धवलागिरी एफएमले ०६१ पुस १ गतेदेखि समाचार प्रशारण शुरु गरेको थियो । शुरुमा बिहान, दिउसो र सांझ मात्र समाचार प्रशारण शुरु गरेको एफएमले ०६१ माघ १९ गतेको कदमपछि ०६२ भदौ १५ गतेसम्म समाचार बन्द गर्नुपरेको थियो । ०६३ माघ १ गतेदेखि प्रत्येक घण्टा समाचार प्रशारण शुरु भएको र हालसम्म पनि निरन्तर प्रशारण हुदै आएको समाचार शाखाले जनाएको छ ।
बिहान ५ बजेदेखि राती १०ः१५ बजेसम्म १७ घण्टा प्रशारण हुने एफएमले विहान ५ः३० र साझ ७ः३० मा धौलागिरी केन्द्रित धौलागिरी हालचाल, विहान ९ बजे धौलागिरी गतिविधि, विहान ५, ८, ११, साँझ ५ बजे धौलागिरी बुलेटिन, दिउसो १ बजे धौलागिरी सेरोफेरो, ३ः३० मा अनलाइन अपडेट सहित परिक्रमा लगायत १३ वटा समाचार एफएमले आफै उत्पादन तथा प्रसारण गर्दै आएको छ भने कायाकैरन, नेपाल दर्पण, नेपाल खबर, बिबिसी नेपाली सेवा भने राष्ट्रिय स्तरका समाचारमुलक कार्यक्रम प्रशारण गरेको छ । एफएमकोसमसामयिक विषयमा विभिन्न कार्यक्रम पनि प्रसारण हुदै आइरहेका छन् ।
सत्य तथ्य र सन्तुलित समाचार प्रशारणको नारा सहित एफएम प्रालिले ग्रामिण तहमा सञ्चारको विकास गर्नका लागि धौलागिरिका पहिलो पटक एक गाविस एक पत्रकार भन्ने नाराका साथ विभिन्न गाविसमा प्रतिनिधि राखेर समाचार संकलन र प्रशारण गर्दैै आएको छ ।