मुस्ताङ गएका पर्यटकको बागलुङ पनि रोजाईमा

-- / प्रकाशित मिति : मङ्लबार, कार्तिक १३, २०७५


तस्विरः बागलुङको पञ्चकोट पुगको बाह्य पर्यटक ।

पर्यटकीय जिल्ला मुस्ताङ घुम्न गएका पर्यटकले बागलुङलाई पनि रोजाईमा राख्न थालेका छन् ।
दशैँ तथा तिहारको समयमा म्याग्दी, मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन ह्वात्तै बढेको छ । यस क्रमामा बागलुङ पनि पुग्नुपर्छ भन्ने सोच र आकर्षण देखिन थालेको स्थानीय होटल व्यवसायी बताउँछन् । जिल्लाको ढोरपाटन, सर्वसिद्धिधाम पञ्चकोट, कालिका भगवति मन्दिर आउन चाहने आन्तरिक तथा बाह्य पर्यटकको संख्या बाक्लिदो छ ।
अर्को तर्फ मुस्ताङमा होटल नपाउने समस्याका कारण पनि पर्यटक होटल खोज्दै बागलुङ आउन थालेका हुन् । म्याग्दी र मुस्ताङ आएका पर्यटकले त्यहाँ सबै होटल भरिएपछि पर्यटक होटल खोज्दै छिमेकी जिल्ला बागलुङ र पर्वत आउन थालेका हुन् ।

“मुस्ताङ र म्याग्दीमा यो सिजनमा धेरै पर्यटक जान्छन्” बागलुङ होटल व्यवसायी सघंका अध्यक्ष निलेश राजभण्डारीले भने, “अहिले ति पर्यटकको बागलुङ पनि रोजाईमा पर्न थालेको छ, केही घुम्ने र केही होटल खोज्दै बागलुङ आउछन् ।” यतिबेला बागलुङ जिल्लाका ठूला होटल मुस्ताङ र म्याग्दी घुम्न जाने पर्यटकले भरिएको होटल व्यवसायी संघ बागलुङले जनाएको छ ।

“दशैँको भोलिपल्टदेखि म्याग्दी र मुस्ताङका सबैजसो होटल पर्यटकका लागि बुक भइरहेका छन्” होटल व्यवसायी सङ्घ म्याग्दीका अध्यक्ष ताराप्रसाद आचार्यले भने, “मुस्ताङ जानका लागि म्याग्दी आउने पर्यटकलाई छिमेकी जिल्ला पर्वत तथा बागलुङका होटलमा पठाउने गरिएको छ ।”

बागलुङमा ठूला क्षमताका होटल भए पनि मुस्ताङ र म्याग्दीमा ठूला क्षमताका होटल खासै छैनन् । मुस्ताङ जान आउने पर्यटक सिधै मुस्ताङ नगइकन म्याग्दीमा बास बस्नुले होटलको माग बढेको म्याग्दीका होटल व्यवसायी बताउँछन् ।

मुस्ताङबाट फर्कदा म्याग्दीको भुरुङ तातोपानी बस्ने योजना बनाएका फ्रान्सेली नागरीक डेविट होटल नपाउँदा बागलुङ बजारको पिस प्यालेसमा बास बस्न आएको बताउँछन् । यहाँ आउदाँ कालिका मन्दिर, पञ्चकोट घुम्दा यात्रा अझ बढी रोमाञ्चक बनको उनी बताउँछन् । दशैँ तिहारको समयमा म्याग्दी हुँदै मुस्ताङ जाने पर्यटक विगतका वर्षमा भन्दा यो वर्ष अत्यधिक भएको पर्यटन व्यवसायी बताउँछन् । प्रायजसो निजी गाडी तथा मोटरसाइकलमा आउने पर्यटक बागलुङ, म्याग्दी घुम्दै मुस्ताङ जाने गर्दछन् भने एजेन्सीमार्फत आएका पर्यटक सिधै मुस्ताङ जाने गरेका छन् ।