ढोरपाटनको आलुले बजार लियो, बुटवल लगायतबाट आयात कम

-- जिवन थापा मगर / प्रकाशित मिति : मङ्लबार, कार्तिक ६, २०७५

बागलुङको पश्चिम ढोरपाटनको आलु उत्पादन र बजारिकरणले अन्य जिल्लाबाट आयात गर्नुपर्ने बाध्यतामा धेरै कमी ल्याएको छ ।

बोबाङका स्थानिय ६ जना युवाको सक्रियतामा गतबर्ष देखि थालिएको अर्गानिक उत्पादनको बजारीकरणले स्थानियबासी पनि उत्साहित बनेका छन् ।

गत साउन महिनादेखि बिक्री गर्न थालिएको ढोरपाटनको आलु हालसम्म १५ सय क्विन्टल खरिद गरी सकिएको र अझै ५ सय क्विन्टल खरिद गरेर बिक्री गर्ने लक्ष्य रहेको सञ्चालक समितीका सचिब होमलाल भुसालले जानकारी दिनुभयो । आफुहरुले घरमै पुगेर आलु खरिद गर्ने र नगद पैसा बुझाउने गरिएका कारण कृषकहरु समेत खुसी बनेका छन् । आलु उत्पादनमा युवाहरुको समेत चासो बढ्दै गएका कारण कृषकहरुमा आम्दानीको श्रोत समेत बढ्दै जान थालेको स्थानीय कृषक बताउाछन् ।

ढोरपाटनमा उत्पादन हुने आलु स्वादिलो र अर्गानिक भएका कारण बागलुङ जिल्लाका अधिकांश भाग संगै गुल्मीको भुवाचिदी, शान्तिपुर, पर्वतको कुस्मा, अर्घखांची, बुटवल तथा पोखरा काठमाण्डौ लगायतका शहरसम्म ढोरपाटनमा उत्पादित आलुको माग बढ्दो छ ।

लोकल आलुको माग बढन थालेसंगै बागलुङको पश्चिम व्यापारीक केन्ऽ बुर्तिबाङ बजार लगायतका बजार क्षेत्रमा बुटवलबाट आयात हुने आलु बिक्री हुन छोडिसकेको व्यवसायीको भनाई छ । समितले बुर्तिबाङ बजारमा २ वटा आलु, स्याउ राख्ने स्टोर बनाएको छ । जसमा आलु जम्मा गरेर समय समयमा आफनै ट्याक्टर मार्फत बजारीकरण गर्दे आएको छ ।

बैदेशिक रोजगारीको क्रममा धेरै देशमा हण्डर खाएका युवाहरुको सक्रियतामा आफ्नै गांउमा केहि गर्न सकिन्छ भन्ने मान्यताका साथ ग्रामिण क्षेत्रमा उत्पादित बस्तुको बजारीकरणमा लागेको समितीका अध्यक्ष चिरण घर्तीमगरले बताउनुभयो । समुहमा आबद्ध केहि युवाले ढोरपाटन देखि आलु र स्याउ बुर्तिबाङ बजार सम्म पठाउने केहिले बुर्तिबाङ बजार देखि बिभिन्न शहरमा पठाउने गरेका छन् ।

विगतका बर्षमा स्वादिलो नहुने र दाग भएका मात्र स्याउ बजार आउंदा कसैले नरुचाउने भएपनी पछिल्लो समय स्वादिलो र आकर्षक देखिने रोयल डेलिसेस, गोल्डेन जातका स्याउ उत्पादन हुन थालेसंगै बजारमा ढोरपाटनको स्याउको माग बृद्धि भएको समितीका सचिव भुसालको भनाई छ ।

स्याउ उत्पादनका निम्ती जिल्ला कृषि कार्यालय लगायत बिभिन्न संघसंस्थाले कृषहरुलाई तालिम समेत दिएका थिए । आलु र स्याउ बिशेष गरी ढोरपाटन नगरपालिकाको वडा नं ७, ८ र ९ को कांग, मस, नौथर गांउ, विजौली खोला, उत्तरगंगा, पाखाथर, नवि लगाएत निसीखोला गांउपालिकाको वडा नं ६ मा पर्ने निसेलढोरमा समेत उत्पादन हुने गरेको छ । कृषहरुले पाखो बारीमा जैविक मलको मात्र प्रयोग गरेर आलु उत्पादन गर्ने गरेका छन् ।