अन्नवाली छोडेर अलैची खेती विस्तार

-- बलबहादुर रोका / प्रकाशित मिति : आइतवार, अशोज ७, २०७५

बागलुङको ग्रामिण क्षेत्रका कृषकहरु यतीबेला खेतीयोग्य जमिनमा अन्नबाली मासेर अलैची खेती गर्दै आएका छन् ।
अन्नबालीबाट आम्दानी कम मात्र भएको र ज्याला उठाउनै समस्या हुन थालेपछी कृषकहरुले कालो सुनले परिचित अलैची खेतीलाई रोजेका हुन ।
खाली जमिन खोल्साखोल्सीहरुमा खेती गर्दै आएका कृषकहरु पछिल्लो समय परम्परागत खेती गर्दै आएको अन्नबालीलाई न्युनिकरण गर्दै अलैची खेतीलाई बिस्तार गर्दै आएका छन ।
अलैचीलाई सामान्य रुपमा खेती गर्दै आएका कृषकहरुले यो खेतीबाट पनि आम्दानी हुन्छ र भन्ने कृषकले धमाधम खेतीयोग्य जमिनहरुमा बिरुवा खरिद गरी खेतीलाई बिस्तार गर्दै आएका छन् । जिल्लाको ताराखोलालाई प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अन्तर्गत अलैची पकेट क्षेत्र घोषण गरे पछि अमरभुमी, अर्गल, हिल, ताराखोलाका कृषकहरु अलैची खेतीमा आकर्षित भएका हुन ।
सो क्षेत्रमा आ.ब.२०४८÷२०४९ सालमा अलैचि खेति गरिएको थियो । तत्कालीन अवस्थामा युद्धको कारण अलैचि खरिद गर्न व्यापारीहरु आउन छाडे पछि अलैची खेती विस्थापित भएको स्थानीय कृषक हिरासिङ रोकाले बताउनुभयो ।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना अलैची खेती पकेट क्षेत्र घोषण भए पछि ताराखोला गाउँपालिका–२ अर्गलमा ५० जना कृषक अलैची खेतीमा आबद्ध भएका छन । सो क्षेत्रका कृषकहरुले सामुदायिक तथा व्यक्तिगत आवधीमा अलैची खेती गर्दै आएका छन् ।
स्थानीय कृषकहरुले परम्परागत रुपमा हुने अन्नवाली धान, भांगो लगायतका अन्नवाली मासेर अलैची खेती सुरु गरेको बताइएको छ । गत आर्थिक वर्षमा ताराखोलागाउँपालिका–२ अर्गलका कृषक ५ क्वीन्टल अलैची उत्पादन गरी विक्री दर्ता ४ लाख ५० हजार रुपैयाँ आम्दानी भएको नवसृजनशिल अलैची विकास समूहका अध्यक्ष गजिन्द्र घर्तीले जानकारी दिनुभयो ।
गत आर्थिक वर्षमा अलैची खेतीको विस्तार र विकास गर्न ताराखोला गाउँपालिकाले नवसृजनशिल अलैची विकास समूहलाई ७ लाख २० हजार रुपैयाँ अनुदान प्रदान गरेको अध्यक्ष घर्तीले बताउनुभयो । विनियोजित रकमबाट अर्गलमा इलामदेखि भार्लाङ जातको अलैचिको विरुवा लिएर वडा नं २ का कृषकका कृषकलाई ५० प्रतिसत अनुदानमा विरुवा वितरण गरिएको संस्थाका सचिव इन्द्र बहादुर घर्तिले बताउनुभयो ।
चालु आर्थिक वर्षमा गाउँपालिकाले ८ लाख रुपैयाँ विनिजयोन गरी गाउँपालिका अन्तर्गतका विभिन्न वडामा अलैची खेती विस्तार गर्ने योजना निर्माण गरेको छ ।