बन्दको अवज्ञा गर्नेलाई अबिर र फुलमालाले स्वागत !

-- / प्रकाशित मिति : शुक्रबार, अशोज ५, २०७५

बागलुङमा भने बन्दको अबज्ञा गर्नेलाई अबिर माला लगाईएको छ ।

भदौ १ गतेदिख लागू गरेको सवारी ऐन चालकमैत्री नभएको भन्दै आफ्ना सवारी साधन नचलाएका चालकहरुले सवारी चलाउनेलाई अबिर माला लगाएका हुन् ।

अन्यायमा परेको भन्दै सवारी नचलाएका चालकहरुले आफ्नो आन्दोलनमा साथ नदिनेलाई लज्जाबोध गराउनका लागि अबिर माला लगाईदिएको चालक जीवन पौडेलले बताए । उनले आफ्नै अधिकारका लागि लडेको लडाईंमा साथ नदिने साथीहरुलाई सम्झनाका लागि सम्मान स्वरुप अविर माला लगाएको दाबी गरे । बागलुङ बजारदेखी पश्चिममा रहेका गाउँपालिका तथा नगरपालिकामा यात्रु बोकेर हिँडेका सवारी साधन र बागलुङ बजार आउँदै गरेका सवारी साधनका चालकलाई अबिर माला लगाईएको थियो । मध्यपहाडी लोकमार्गअन्र्तगत बागलुङ बजार नजिकै हाँडेपाखामा जम्मा भएका चालकहरुले सवारी चलाउने चालकलाई गाडी रोकेर अबिर लगाउँदै गन्तव्यमा पठाएका थिए । ‘हामीले उहाँहरुलाई पनि हाम्रो आन्दोलनमा साथ दिनुस् भनेर सम्झनाका लागि अबिर माला लगाएका हौं’ पौडेलले भने ‘हप्काउने र धम्काउने भन्दा सम्मान गरेर उहाँहरुलाई लज्जित बनाउनु उपयुक्त लागेर यसो गरिएको हो ।

’ बन्दका बेला हुने अनावश्यक तोडफोड र आगजनीलाई कम गर्नुपर्ने सन्देश दिन पनि आँफुहरुले अबिर मालाको प्रयोग गरेको चालक विकास कार्कीले बताए । उनीहरुले अबिरसँगै पातै–पातले बनेको माला लगाईदिएका थिए । ‘हामीले कसैलाई जर्बजस्ती गरेका छैनौ’ कार्कीले भने– ‘बन्दका बेला हुने अनावश्यक हर्कत नगरेर पनि बिरोध गर्न सकिन्छ भन्ने सन्देश दिएका हौं ।’ अबिर लगाएर हिँडेका चालकहरुले पनि भोलिदेखि हुने आन्दोलनमा साथ दिने प्रतिबद्धता जनाएको पौडेलले बताए । अबिर माला लगाउनेमा सबैभन्दा धेरै पिकअप भ्यानका चालकहरु रहेका छन् । पुराना व्यवसायिक समितिमा आबद्ध जिप तथा बस चालकले सवारी साधन थन्काएर आन्दोलनमा हिँडेका भएपनि निजी प्रयोजनका लागि लिईएका पिकअप भ्यान भने सञ्चालनमा थिए । ‘चालकहरुले बिरोधको नयाँ शैली अपनाएका होलान्’ धौलागिरी जिप व्यवसायी समितिका अध्यक्ष बिष्णु अधिकारीले भने ‘तोडफोड गरेर बन्द गराउनेका लागि यो रचनात्मक पाठ सिकाएको हुनुपर्छ ।’ मातहतमा रहेका सवारी साधनलाई बन्द नगर्न आग्रह गरेको भएपनि चालकले स्वत्ःफुर्त सवारी नचलाएको अधिकारीले बताए । चालकहरुको आन्दोलनका कारण बिहिबार दिनभर बागलुङमा सार्वजनिक यातायातका साधन चलेका थिएनन् । यातायत ठप्प हुँदा बागलुङमा लामो तथा छोटो दुरीका यात्रुहरु बीच बाटोमै अलपत्र परेका थिए ।