मध्यपहाडी लोकमार्ग : गाउँमा सरर, शहर नजिक सास्ती

-- बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २०, २०७५

मध्यपहाडी लोकमार्गको खहरे नजिक घुम्तीको सडक दृश्य । तस्विरः राम अविरल । 
मध्यपहाडी लोकमार्गको सबै भन्दा बढी भाग बागलुङमा पर्छ । १ हजार ७ सय ८६ किलोमिटर लम्बाइ रहेको लोकमार्गको १ सय ३५ किलोमिटर सडक बागलुङ खण्डमा पर्दछ । जस मध्ये जिल्ला सदरमुकाम आसपास बाहेकको ग्रामिण क्षेत्रमा पर्ने ५८ किलोमिटर सडक कालोपत्रे भइसकेको छ । तर, जिल्ला सदरमुकाम बागलुङ बजारदेखी घोडाबाँधे सम्मको २५ किलोमिटर सडक हिलाम्य अवस्थामा छ । निर्माण सुरु भएको २० वर्ष बित्दा समेत सदरमुकामदेखी अक्षेते बजार सम्मको सडक खण्डमा ‘ग्राभेल’सम्म हुन नसकेको काठेखोला गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष बिद्यापति शर्माले बताए ।

बुर्तिबाङबाट डेढ घन्टामै घोडाबाँधे आउने सवारीलाई बागलुङ सदरमुकाम आउन बाँकी २५ किमिमा करिब दुई घन्टा लाग्छ । सडकमा खाल्डाखुल्डी धेरै भएका कारण वेलावेलामा गाडी फस्ने समस्यासमेत छ । मध्यपहाडी लोकमार्गलाई वर्षौंसम्म स्तरोन्नति गर्न नसक्दा सर्वसाधारण कष्टपूर्ण यात्रा गर्न बाध्य भएका छन् । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको लोकमार्ग बागलुङ सदरमुकामदेखि घोडाबाँधे सम्मको २५ किलोमिटर सडकमा सर्वसाधारणले बढी सास्ती खेप्नु परेको ढोरपाटन नगरपालिकाका गणेश थापाले बताए । ‘दुर्गम भनिएका गाउँहरुमा सडकमा ग्राभेल, कालोपत्रे भएर सरर गाडी गुड्न थालेको छ,’ उनले थपे, ‘तर शहर सदरमुकाममै जोडिएका स्थानको सडकको दुर्दशा उदेक लाग्दो छ, दर्जन बढी यहाँका प्रदेश र संघिय सांसद छन्, कति पटक ध्यानाकर्षण गराउने ?

यस सडक खण्ड हिलाम्य हुँदा अहिले ज्यान जोखिममा राखेर यात्रा गर्नुपर्ने बाध्यात्मक अवस्था छ । गाडीमा मात्र होइन, पैदल यात्रा गर्नेहरुलाई पनि हिलाम्य सकडको छेउबाट यात्रा गर्नुपर्दा ठुलो सकस भइरहेको सडक आसपासका स्थानीयले गुनासो गरेका छन् । हिलाम्य र जोखिमपूर्ण सडक रहेको स्थान बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकामा पर्दछ । नगरपालिकाका मेयर जनकराज पौडेल र गाउँपालिका अध्यक्ष अमर थापा दुवैले मध्यपहाडी लोकमार्ग आयोजनाका ठेकेदारलाई पटक पटक सम्पर्क गरि ध्यानाकर्षण गराए पनि समस्या यथावत रहेको बताए ।

वर्षामा हिलो र हिउँदमा धुलोको समस्या झैल्दै आएका स्थानीवासीले केही बर्षदेखी निरन्तर लोकमार्ग छिटो कालोपत्रे गर्न माग गर्दै आएका छन् । जनप्रतिनिधि, राजनीतिक दलका नेता, सामाजिक अगुवा र स्थानीय प्रशासनले समेत लोकमार्ग निर्माणलाई तीव्रता दिन आयोजना व्यवस्थापन र ठेकेदार कम्पनीको पटक पटक ध्यानाकर्षण गराउदै आएका छन् । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा संघिय सांसद देवेन्द्र पौडेलले अब तोकिएको अवधिमा काम नगरे निर्माण कम्पनीलाई कारबाही गर्ने बताए । ‘आयोजनाको निर्माण सम्झौता अवधि माघ सम्म रहेको छ,’ सांसद पौडेलले भने, ‘सम्वन्धित निकाय र ठेकेदारलाई हामीले गम्भिर ढंगले ध्यानाकर्षण गराएका छौ, अब पनि लापरवाही गरे कारवाही गरेर छिटो सम्पन्न गर्नेमा हामी पहल र दबावमूलक भुमिका खेल्छौ ।’

सदरमुकामदेखि बिहुँसम्मको १३ किमिको कालोपत्रेको जिम्मा ‘सिद्विटाई कन्स्ट्रक्सन’ र बाँकी घोडाबाँधे सम्मको बाँकी खण्ड निर्माणको जिम्मा ‘सूर्य कन्स्ट्रक्सन’ले लिएको छ । लोकमार्ग आयोजनाको काम सडक हिलाम्य हुँदा उपलब्धि नदेखिए पनि अहिले निर्माण कार्यमा मजदुर दैनिक खटिएका छन् । अविरल वर्षाले यो वर्ष धेरै ठाउँमा पहिरो गएकोले समस्या भएको लोकमार्गको बागलुङ खण्डका इन्जिनियर सुरज महर्जनले बताए । ‘वर्षा लागेपछि पहिरो पन्छाउने, सडक, नाली मर्मत गर्ने काममै बढी समय खर्च भएको छ,’ उनले भने, ‘दैनिकजसोको झरीले सडक ‘ग्राबेल’ गर्ने काम रोकिएको छ, वर्षा सकिए लगत्तै ग्राभेल गर्ने काम सुरु हुनेछ ।’ यस वर्ष पूर्वाधार तयारीको काम सक्ने र अर्को वर्ष कालोपत्रे गर्ने लक्ष्य रहेको उनले बताए ।

मध्यपहाडी लोकमार्गले पूर्वदेखि पश्चिमसम्म जोड्छ । लोकमार्गले काबेली, तमोर, अरुण, सुनकोसी, तामाकोसी दूधकोसी, सेती, कालीगण्डकी, माथिल्लो कर्णाली, नरसिंहगाड, बुढीगंगा र पश्चिमसेतीलगायत आयोजनालाई पनि जोड्नेछ । नेपालको पहाडी क्षेत्र हँुदै पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग बागलुङको मध्यभागबाट गएको छ । पूर्वमा नेपाल–भारत सिमानाको पाँचथर चियो भञ्ज्याङबाट सुरु भएको मध्यपहाडी लोकमार्ग २४ वटा पहाडी जिल्ला छिचोल्दै सुदूरपश्चिमको बैतडीको झुलाघाटमा पुगेर टुंगिन्छ ।