धनीले बुझ्दै ‘गरिब परिचय पत्र’

-- बागलुङ / प्रकाशित मिति : बुधबार, भदौ २०, २०७५

ढोरपाटन नगरपालिका ८ बुर्तिबाङ बजारका तमबहादुर बिकको नाम गरिबको सूचीमा छ । यस बजारमा जग्गाको मूल्यनै लाखौ पर्छ । मालपोत कार्यालय समेत बसेको उनको ठुलो घरले उनी धनी या गरिब भन्ने सजिलै पहिचान हुन्छ । तर उनले गरिबको परिचय पत्र पाउनु पर्ने भन्दै कर्मचारी सँग लामै समय जिकिर गरे ।
काठेखोला गाउँपालिका ३ धम्जाका टेकबहादुर बिक भारतिय सेनाबाट अवकाश प्राप्त हवल्दार हुन् । उनले प्रत्येक ६÷६ महिनामा सदरमुकाम आएर १ लाख ५० हजार बराबरको पेन्शन बुझ्छन् । तर, उनले यसै साता गरिबी परिचय पत्र ग्रहण गरे । उनी मात्रै होइन, सोही वडाका नुनबहादुर बिक पनि भारतिय सेनाबाट अवकाश प्राप्त प्रहरी हवल्दार हुन् । उनले पनि गरिब परिचय पत्र बुझेका छन् ।
लेखानी स्वास्थ्य चौकीका प्रमुख लक्ष्मीप्रसाद न्युरे सरकारी स्थायी जागिरे हुन् । स्थानीय स्वास्थ्य चौकीमा सिनियर अहेवको रुपमा कार्यरत रहेर आकर्षक तलब बुभ्ने उनको नाम गरिबको सूचीमा छ । तर गरिब परिचय पत्र बितरणका बेला काठेखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर बिक नेतृत्वको टोलीले यो बिषय थाहा पाए पछि परिचय पत्र दिन अस्वीकार ग¥यो । ‘उहाँले परिवारको लालन पालन र शिक्षाका लागि चाहिन्छ भनेर केही जोड पनि गर्नुभएको थियो, ’ बिकले भने, ‘मैले प्रमुख जिल्ला अधिकारी ज्यूलाई फोन गरे, उहाँले पनि नदिन भने पछि रोकियो, यस्तो समस्या धेरै ठाउँमा देखिएको छ ।’
धम्जाकै हुमाकुमारी बिकले भने आफ्नो नाम गरिबको सूचीमा उल्लेख भए पनि उच्च नैतिकता देखाएरै परिचय पत्र नलिने जिकिर गरिन् । ‘म मेरो श्रीमानले भारतिय सैनिक भएर रगत पसिना बगाउदाको पेन्शन नियमित बुझ्दै आएको छु, मेरो नाम के कसरी गरिबको सूचीमा राखियो ? मलाई थाहा छैन,’ उनले भने, ‘यो गरिब परिचय पत्र म लिन्न, यो बास्तविक गरिब, बिपन्नलाई दिनुस्, उनीहरुको कल्याण हुनेछ ।’
यि प्रतिनिधि घटनाले सरकारले गरिबलाई वितरण गरिने भनिएको ‘गरिब परिचयपत्र’ बागलुङ जिल्लामा धनीलाई वितरण भइरहेको पुष्टि गरेको छ । गरिब घर परिवार पहिचानका बेला हचुवाका भरमा बिवरण संकलन गर्दा र सम्वन्धित नागरिकले पनि सेवा सुविधा पाउने लालचाले यस्तो समस्या धेरै ठाउँमा देखिएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत धनप्रसाद पोखरेलले बताए । ‘गरिब परिचय पत्र बितरण शुरु गरे पछि २० प्रतिशत जति धनी व्यक्ति गरिबको सूचीमा भएको गुनासो आएको छ,’ पोखरेलले थपे, ‘यसमा कसैले गणना गरेको ६ बर्षमा अहिले कमाउन सफल भएको र गणनामा सम्लग्न सामाजिक परिचालकले आँफुहरुलाई जे भने त्यही संकलन गरेको बताएका छन् । जस्तो अवस्थामा जे तरिकाबाट जसरी गरियो, समस्या त्यहीबाट शुरु भएको देखिन्छ ।’
यस्तो समस्या काठेखोलाका साथै गलकोट नगरपालिका, ढोरपाटन नगरपालिका, ताराखोला गाउँपालिका, तमानखोला, निसीखोला, जैमिनी नगरपालिकामा बढी देखिएको स्थानीयले गुनासो गरेका छन् । गरिब परिचय पत्र वितरण गरिएकोमा धेरैले आँकलन र अनुमान नै नगरेका व्यक्तिहरू अस्वभाविक रुपमा परेका छन् । सरकारले निम्न वर्गलाई लक्ष्य गरी ल्याएको गरिब परिचयपत्र सम्पन्न परिवारलाई वितरण गरेपछि धेरैले सामाजिक सञ्जाल लगायतका माध्यमबाट विरोध समेत जनाएका छन् । जननिर्वाचित प्रतिनिधि आइसकेको व्यापक सुधार र परिवर्तनको अपेक्षा गरिएको बेला समाजका सम्पन्न परिवारलाई अति गरिब परिचयपत्र वितरण गरेकोमा उनीहरुले चर्को असुन्तुष्टि व्यक्त गरेका छन् ।
सरकारले ०६९, ७० र ७१ सालमा गरेको गरिब घरपरिवार पहिचान सर्वेक्षणमा छनोट भएका परिवारलाई गरिब परिचयपत्र वितरण गर्ने कार्य जिल्लाभर गरिरहेको छ । लगत संकलन गर्ने बेला केही त्रुटि भएकाले अहिले आँफुहरु बितरण गर्न जाँदा समेत ठुलो समस्या र दबाव खेप्नु अवस्था आएको जिल्ला समन्वय समिति बागलुङका प्रमुख राजेन्द्र ढु®ानाले बताए । ‘गत बर्ष जिल्लाको निसीखोला गाउँपालिकामा गरिब परिचय पत्र बितरण गरेपछि धनीले पाएको व्यापक गुनासो आएको थियो, त्यसपछि अन्य स्थानीय तहमा यो बितरण नगर्न भनेर केन्द्रमा ध्यानाकर्षण पनि गराएका थियौ,’ उनले भने, ‘तर हाम्रो आग्रह र सुझावको बेवास्ता गर्दा अहिले सबै ठाउँमा समस्या देखिएको छ, यसबारे सबै क्षेत्रबाट हामीकहाँ गुनासो र सुझाव आएको छ, हामी फेरी यसको पुर्नगणना या पुर्नबिचारका लागि गम्भिर ढगंले ध्यानाकर्षण गराउने छौ ।’