पहिलो पटक बागलुङमा दुई वटा मुद्दा

-- बागलुङ / प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०७५

नयाँ मुलुकी ऐन कार्यन्वयमा आए पछि पहिलो पटक बागलुङमा दुई वटा मुद्दा परेका छन् ।
जिल्ला अदालत बागलुङमा बानपा–८ सिगानाका एक दम्पत्तिको सम्बन्ध विच्छेद र बानपा–२ का उमेश केसीले अनादार चेकको विषयमा मुद्दा दर्ता गराउनुभएको हो ।
जिल्ला अदालत बागलुङले पहिलो पटक मुद्दा लिएर गएका पक्षलाई फूलअबिरले स्वागत गरेको थियो । भदौ १ देखि संहिता लागू भएपनि मुद्दा भने मंगलबार कार्यालय समय सकिनै लाग्दा मुद्दा दर्ता भएपछि पक्षलाई स्वागत गरिएको हो ।
मुलुकी देवानी संहिता र फौजदारी संहिता लागू भएपछिको पहिलो मुद्दा परेकोले जिल्ला अदालतमा सार्वजनिक कार्यक्रम गरेर जिल्ला न्यायाधीश प्रकाश प्रसाद पण्डित, स्रेस्तेदार रामबहादुर थापा क्षेत्री लगायतले मुद्दाका पक्षहरुलाई स्वागत गर्नुभएको हो ।
बागलुङ नगरपालिका ९ सिगानाका ३८ वर्षीय जीतबहादुर थापाले श्रीमती यमुना विरुद्ध सम्बन्ध बिच्छेदको मुद्दा दिनुभएको छ । नयाँ मुलुकी देवानी संहिताको दफा ११९ अनुसार यो मुद्दा दर्ता भएको अधिवक्ता राम शर्माले बताउनुभयो । वैदेशिक रोजगारीबाट फर्केपछि मनमुटाव भएपछि थापाले सम्बन्ध बिच्छेदको मुद्दा दिनुभएको हो ।
पुरुषले अदालतमा आएर सम्बन्ध बिच्छेदको मुद्दा दिएको अहिले सम्मकै पहिलो उदाहरण भएको स्रेस्तेदार रामबहादुर थापा क्षेत्रीले बताउनुभयो । ‘यस्ता केश आएका थिएनन्न अहिलेको नयाँ संहितामा पनि यो पहिलो मुद्दा भएको छ ।’
यसअघि मुद्दा लिएर आएपछि तत्काल सम्बन्ध बिच्छेद गराउन सक्ने प्रावधान थियो । संहिताले एक वर्षसम्म अदालतमा रहेपछि मात्र विच्छेद हुने प्रावधान राखिएकाले मुद्दाको किनारा लाग्न भने समय लाग्नेछ ।