औषधि किन्दा उपभोक्ता ठगिदै

-- बागलुङ / प्रकाशित मिति : मङ्लबार, भदौ ५, २०७५

धौलागिरी अञ्चल अस्पताल बागलुङबाट फार्मेसीमा निःशुल्क प्राप्त हुने बाहेकका औषधि किन्दा उपभोक्ता ठगिने गरेका छन् ।
अस्पतालको फार्मेसीले औषधि खरिद गर्दा फिर्ता गर्नुपर्ने हरेक उपभोक्ताको ३÷४ रुपैया फिर्ता नदिने गरेको पाइएको हो ।
कोहि उपभोक्ताले ३३ रुपैयाको औषधि किने भने फार्मेसीले ३५ रुपैया लिने गर्छ उपभोक्ताले ४ रुपैया फिर्ता पाउदैनन् । उपभोक्ताले फिर्ता पैसा माग्दा फार्मेसीमा कार्यरत कर्मचारीले कि खुद्रा पैसा लिएर आउनुपर्ने नत्र दुई चार रुपैयाँ फिर्ता नहुने बताएको गुनासो गरेका छन् ।
फार्मेसीमा पाईने निःशुुल्क बाहेकका औषधि खरिद गर्नु परे त्यसको पैसा तिर्नुपर्छ । तर यहाँ बिरामीलाई सहुलियत र सहज होस् भनेर राखिएको अस्पतालकै फार्मेसीले हरेक उपभोक्ताको हरेक चोटी १ रुपैया देखि ४ रुपैया सम्म फिर्ता गर्दैन । पैसाको मात्रा सानो र सामान्य जस्तो देखिए पनि दैनिक फार्मेसीमा सयौं बिरामी आउने र यसरी फिर्ता नहुँदा दैनिक उपभोक्तालाई फिर्ता नगरिएको पैसा कति उठ्छ र यो कहाँ जान्छ भन्ने प्रश्न पनि चर्काे हुन थालेको छ ।
बागलुङ नगरपालिका–२ बाट उपचारको लागि अंचल अस्पताल पुगेका लोकेन्द्र विकले भन्नुभयो, ’हरेक चोटी २÷३ रुपैया छोड्नु पर्ने रहेछ, म पटक पटक औषधी किन्न गए यस्तै भएको छ’ । दैनिक सयौ विरामी आउने अस्पतालमा कमजोर आर्थिक स्थिति भएका बिरामीहरु उपचार गर्न आउने गर्छन् । तर अस्पतालकै फार्मेसीले यसरि हरेक चोटी औषधि खरिद गर्दा २ देखि ३ रुपैया सम्म फिर्ता नदिदा उपभोक्ता अलमलमा पर्ने गरेका छन् ।
विरामीको सहजताको लागि खुलेको फार्मेसीमा बस्ने कर्मचारीले खुद्रा पैसा फिर्ता गर्नुको अलाव खुद्रा लिएर आए मात्र पैसा फिर्ता हुने जवाफ दिँदा चोट पुग्ने गरेको विरामीहरुको गुनासो छ । धौलागिरी अञ्चल अस्पतालका फार्मेसी प्रमुख सन्तोष सुवेदीले खुद्रा पैसाको अभावमा दुई÷चार रुपैयाँ बढी लिने र छोड्ने गरेको गरेको बताउनुभयो । ‘हामीलाई खुद्रा पैसाको समस्या भएकाले १२ रुपैयाँ तिर्नुपर्नेबाट १० र १३ तिर्नुपर्नेबाट १५ रुपैयाँ लिएको सुवेदीले भन्नुभयो–‘उपभोक्ताको गुनासोलाई ध्यानमा राखेर खुद्रा पैसाको व्यवस्था गर्नेछौँ ।’
अंचल अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डाक्टर सागर राजभण्डारीले तत्काल अस्पतालमा खुद्रा पैसाको व्यवस्था गर्न लगाउने बताउनुभयो । ‘हामीलाई बढी रकम असुल गर्ने छुट छैन डाक्टर राजभण्डारीले भन्नुभयो– यो विषय तुरुन्त सुधार हुन्छ ।
राष्ट्रिय उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठले कुनै पनि विरामीबाट बढी रकम लिन नहुने बताउनुभयो । सुविधा दिनुपर्ने ठाउँबाट सानो ठुलो ठगी भन्ने मात्रामा हेर्न नहुने भन्दै जुनसुकै नाम र बाहनामा जनता मारमा पर्ने कार्य मञ्चलाई स्वीकार्य नहुने अध्यक्ष श्रेष्ठको भनाई छ ।