शालिग्राम जोगाउन संग्रालय निर्माण शुरु

-- / प्रकाशित मिति : शुक्रबार, भदौ १, २०७५

पवित्र कालिगण्डकी नदिमा पाईने पवित्र शिला शालिग्रामको संग्रालय निर्माण शुरु गरिएको छ ।

बागलुङ नगरपालिका—४ कुँडुले फेदीमा स्वामी श्रीधराचार्य शालिग्राम संग्रालय गुफा निर्माणका लागि शुक्रवार सुभारम्भ गरिएको छ ।

संग्रालय निर्माण सुभारम्भ गर्दै गण्डकी प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वाताबरण मन्त्री विकास लम्सालले संग्रालयले धार्मिक पर्यटकहरुलाई भित्र्याउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताए । ‘हिन्दु धर्मावलम्बीहरुले शालिग्राम शिलालाई निकै पवित्र वस्तुको रुपमा पुज्ने गरेका छन्,’ उलने भने,‘ विश्वमै कालिगण्डकी नदिमा मात्र पाईने भएकाले शालिग्रामको विशेष महत्व पनि छ । यसले नेपाल भित्र र भारतबाट समेत धार्मिक पर्यटकहरुलाई भित्र्याउनका लागि निकै सहयोग पुग्नेछ ।’

गण्डकी प्रदेश भित्रका धार्मिक क्षेत्रहरुले यहाँको आर्थिक विकासमा ठूलो भूमिका खेल्ने गरेको उनको भनाई छ । ‘यस प्रदेशका धार्मिक क्षेत्रहरु मुक्तिनाथ, कालिका मन्दिर लगायत ठाउँहरुले यहाँको आर्थिक विकासका लागि सघाईरहेका छन्,’ उनले भने,‘यहाँ तपाईहरुले शालिग्रामको संग्रालय बनाउने अभियान थाल्नुभएको छ । यसले एक पटक फेरि हिन्दु धर्म मान्नेहरुलाई यहाँ डो¥याउनेछ ।’ उनले निर्माण थालिको शालिग्राम संग्रालयको लागि प्रदेश सरकारको तर्फबा आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । प्रदेश सांसद ईन्द्रलाल सापकोटाले जिल्लाको धार्मिक क्षेत्रहरुको विकासले यहाँको आर्थिक विकासमा पनि सहयोग पुग्ने बताए । ‘यहाँको धार्मिक क्षेत्रहरुले आर्थिक विकासका लागि सहयोग अवश्य पुग्छ,’ उनले भने,‘यो संग्रालय निर्माणका लागि तपाईहरुले सुरुवात गर्नुभएको छ । यसमा हामी पनि संगै रहनेछौं ।’

करिब साढे दुई देखि तीन करोडको लागतमा संग्रालय निर्माण गरिने स्वामी ऋषि प्रपन्नाचार्यले बताए । उक्त संग्रालयमा ग्राम देखि तीन सय किलोसम्मका करिब १८ हजार शालिग्राम शिला राखिनेछ । संग्रालयका लागि विस्फोटक पदार्थका सहयोग लिएर गुफा निर्माण गर्ने कार्य सुरु भएको छ ।

प्रदेश सांसद कृष्ण थापाले जिल्लाको विकासका लागि संग्रालय कोशेढुङ्गा सावित हुने बताए । ‘हिन्दु धर्मको विशेष महत्वको विषय भएकाले यसले ठूलो अर्थ राख्छ,’ उनले भने,‘यो संग्रालयले मुक्तिनाथ जाने धार्मिक पर्यटकहरुलाई एक पटक यहाँ पस्नका लागि प्रेरित गर्नेछ ।’ जिल्ला समन्वय समिति प्रमुख राजेन्द्र ढुङ्गाना, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले निकै महत्वपूर्ण संग्रालय निर्माण सुरु भएकाले त्यसलाई सम्पन्न गर्नका लागि सबैले सहयोग गर्नुपर्ने बताए । बागलुङ नगर प्रमुख जनकराज पौडेलले नगर क्षेत्रकै गौरवको विषय भएकाले संग्रालय निर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । ‘यसले बागलुङ नगरपालिकालाई नै धनि बनाउँछ भन्ने हामीलाई लागेको छ,’ उनले भने,‘तपाईहरुले सुरु गरेको यो काममा हामी पनि हातेमालो गर्न तयार छौं । सक्दो सहयोग अवश्य हुनेछ ।’ बागलुङ नगपालिका—४ का वडाध्यक्ष ध्रुव केसीले आफ्नो वडा भित्र संग्रालय निर्माण हुन लागेकाले स्रोत जुटाउनका लागि आवश्यक समन्वय गरिरहेको बताए ।
तस्विरः शालीग्राम संग्रालय निर्माणका लागि गुफाको काम गर्दै मजदुर ।