बुर्तिबाङ बाढीले रातभार भागाभाग र जाग्राम

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बुधबार, साउन ३०, २०७५

बागलुङको ढोरपाटन नगरपालिकाको केन्द्र बुर्तिबाङ बजारमा बर्षासँगै आएको बाढीका कारण बजारबासी रातभार भागाभाग र जाग्राम बस्न बाध्य भएका छन् ।
बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको ठाडो खोल्सा तथा बतासे खोलामा अविरल बर्षासंगै राती करिव ११ बजेको समयमा बतासे खोलामा बाढी आउन सुरु गरेपछि सिमसार टोलका बासिन्दा भागाभाग भएका थिए ।
बाढी आउन सुरु गरेको केहि समयमा नै प्राथमिक स्वास्थ्य केन्द्र, त्यस नजिकको सिमसार टोलमा रहेको फर्निचर उद्योगमा बाढी पसेको थियो । बाढीले कुनै मानवीय क्षती नगरे पनि हामी तिनभाई फर्निचर उद्योग, सोही फर्निचर उद्योग संचालक बस्ने एक तले टिनको घर र शौचालयमा क्षती पु¥याएको छ ।
फर्निचर सहित तलका बस्तीहरुमा थप क्षती हुन नदिन स्थानीयवासीले रातिकै समयमा जाग्राम बसेर कुटो, कोदाले, गैची बेल्चा लिएर बाढीले बगाएर ल्याएको ढुंगा, गग्रेटा, माटो पन्छ्याएर थप जोखिम र दुर्घटना टारेका थिए । उक्त खोल्सामा पटक–पटक आइरहने भल बाढीले सिमसार टोलका स्थानियलाई ठुलो सास्ती दिदै आएको छ ।
गत साउन १ गते राती आएको बाढीका कारण उक्त टोलका ४४ घरपरिवार प्रभावित भएका थिए । जस मध्ये ६ परिवार पुर्ण रुपमा विस्थापित भइसकेका छन् ।