पहिरोमा हराएका सासु बुहारी मृत अवस्थामा फेला

-- बागलुङ / प्रकाशित मिति : बुधबार, साउन ३०, २०७५

जिल्लाको निसीखोला गाउँपालिकामा निरन्तरको वर्षासँगै आएको पहिरोले राति घरमा सुतिरहेकै अवस्थामा सम्पर्क विहिन भएका दुवै जना बुधवार अपरान्ह मृत अवस्थामा फेला परेका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर—३ धुर्सौलाका मानबहादुर शाहीको घर मंगलवार राति माथिबाट आएको पहिरोले पुरिदा उनकी ६५ वर्षीया श्रीमती धनकुमारी शाही र ३५ वर्षीया बुहारी डल्ली शाही सम्पर्कविहिन हुनुभएको थियो ।

बेपत्ता भएका सासु बुहारी दुवैको पहिरोमा पुरिएको र मृत अवस्थामा शव फेला पारिएको इलाका प्रहरी कार्यालय झिवाखोलाका प्रमुख ऋणबहादुर बैदारले बताए । घरमुली मानबहादुर भने गोठ (बुकी) मा गएकाले सकुशल हुनुहुन्छ । उहाँका छोरा दुर्गाबहादुर शाही रोजगारको सिलसिलामा भारतको बैङ्गलोरमा रहेको उहाँले बताउनुभयो । शाहीका पाँच बर्षिय नाति बिवेक शाहीको भने घाइते अवस्थामा उद्धार गरिएको छ ।

पहिरोले घर भत्किएर बेपत्ता भएको सूचना पाउन साथ स्थानीयवासी र प्रहरी टोली पुगेर उद्धार गरेका थिए ।