निसीखोलामा पहिरोले घर पुरिदा सासु बुहारी बेपत्ता

-- / प्रकाशित मिति : बुधबार, साउन ३०, २०७५

फाइल तस्विरः सडक निर्माण पछि निसीखोलामा गएको पहिरो ।
जिल्लाको निसीखोलामा अविरल वर्षाका कारण पहिरोले घर पुरिदा दुई जना बेपत्ता भएका छन् ।

निसीखोला गाउँपालिका वडा नम्बर ३ धुर्सौलाका मानबहादुर शाहीको घर मंगलवार राति पहिरोले पुरिदा घरमा रहेका उनकी ६५ वर्षीया श्रीमती धनकुमारी शाही र ३५ वर्षीया बुहारी डल्ली शाही बेपत्ता भएको स्थानीयले बताएका छन् ।

निजहरू पहिरोमा पुरिएको हुन सक्ने आशङ्का गरिएको छ । शाहीका पाँच बर्षिय नाति बिवेक शाहीको भने घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरिक्षक दिपक रेग्मीले बताए । घरमुली मानबहादुर भने गोठ –बुकी) मा गएकाले ज्यान जोगिएको छ । उनको छोरा दुर्गा बहादुर शाही रोजगारको सिलसिलामा भारतको बैङ्गलोरमा रहेको स्थानीय खीम बहादुर शाहीले जानकारी दिए ।

घटना स्थलमा अहिले प्रहरी टोली पुगेर प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य जारी राखेका छन् । थप उद्दारको लागी ईलाका प्रहरी कार्यालय, बिहूँ घोँडाबाधेबाट नेपाली सेना, अर्जुन बाण गणको टोली पनि त्यस तर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद खरेलले जानकारी दिएका छन् ।