फोनिजको स्थापना दिवसको अवसरमा अन्तर संवाद

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : आइतवार, साउन २७, २०७५

नेपाल आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज) बागलुङको १९ औँ स्थापना दिवसका अवसरमा बागलुङमा अन्तर संवाद कार्यक्रमको आयोजना गरेको छ ।
महासंघले गरेको ‘समावेशी सञ्चार आवश्यकता र अभ्यास’ बिषयक संवादमा बोल्ने वक्ताहरुले सबै खाले सञ्चार माध्यममा समावेशी प्रतिनिधित्व हुनुपर्ने बताएका थिए । जातियताका आधारमा कुनै पनि समाचारका बिषयहरुलाई हटाउने काम गर्न नहुने भन्दै व्यवसायिक र खोजमुलक पत्रकारितामा केन्द्रित हुन आवश्यक औँल्याका थिए ।
आम सञ्चार माध्यममा काम गर्ने पत्रकारलाई तोकिने र प्रदान गरिने पारिश्रमिकमा पनि समानता हुन आवश्यकता रहेको भन्दै यस तर्फ पनि ध्यान दिनुपर्ने सहभागीहरुको भनाई छ । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले पत्रकारितासंगै निरन्तरतामा समस्या रहेकाले दक्ष पत्रकार उत्पादन गर्न र दीर्घकालिन रुपमा टिकाउन सबैले आआफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताउनुभयो ।
सञ्चार माध्यमको विस्तारसंगै जनजाति समुदायका समाचारहरुले पनि बढी प्राथमिकता पाएको देखिएकाले परम्परागत संस्कृतिसंगै अन्य क्षेत्रमा पनि कलम चलाउन आवश्यक रहेको बताउनुभयो ।
स्थापना दिवसका अवसरमा आयोजना गरिएको कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै फोनिजका अध्यक्ष संगम घर्ति मगरले राज्यको सबै निकायमा सबै वर्ग समुदायको सहभागीता सुनिश्चित गराउन आरक्षणको व्यवस्था गर्न एवं लक्षित वर्गमा जनचेतनामुलक कार्यक्रम सञ्चालन गर्न समावेशी सञ्चारको आवश्यकता रहेको औँल्याउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य सन्तोष गौतम, पत्रकार महासंघ बागलुङका पुर्वअध्यक्ष मुकेशचन्द्र राजभण्डारी, सल्लाहकार कोपिला कँडेल, जनजाती अभियान्ता यामबहादुर घर्ति, स्वतन्त्र विद्यार्थी युनियनका सभापति मनिष थापा, पत्रकार नवीन शिशिर, किरण आचार्य, तारानाथ आचार्य लगायतले बोल्नुभएको थियो ।
कार्यक्रम फोनिजका अध्यक्ष संगम घर्ति मगरको अध्यक्षता, कोषाध्यक्ष तनमती रोकाको स्वागत, सहसचिव डम्मर बुढाको सञ्चालनमा सम्पन्न भएको थियो ।