काठेखोलाका ७१ प्रतिशत जनसंख्या कृषीमा आबद्ध

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : शुक्रबार, भदौ २७, २०७६

बागलुङको काठेखोला गाउँपालिकाका ७१ प्रतिशत जनसंख्या कृषी पेसामा संलग्न रहको तथ्याङ्गक सार्वजनिक भएको छ ।
काठेखोला गाउँपालिकाले तयार गरेको दिगो विकास गुरुयोजनामा उल्लेख भए अनुसार २३ प्रतिशत जनसंख्या मात्र कृषि बाहेक अन्य पेसामा संलग्न रहेको उल्लेख गरिएको छ ।
काठेखोलाका १ दशमलव ६ प्रतिशत व्यापार र ० दशमलव २ प्रतिशत घरेलु उद्योगमा संलग्न छन् भने २ दशमलव २ प्रतिशत जनसंख्या दक्ष कामदार (सीपमूलक) र १ दशमलव ५ प्रतिशत अदक्ष कामदारको रुपमा काम गर्दछन् ।
दक्ष कामदार मध्ये करिव २८ प्रतिशत सिकर्मी, २५ प्रतिशत डकर्मी, १५ प्रतिशत गाडी चालक, १२ प्रतिशत सिलाई, ८ प्रतिशत फलामको काम गर्ने र १२ प्रतिशत अन्य क्षेत्रमा दक्ष रहेको गुरुयोजना मस्यौदामा उल्लेख छ । नोकरीमा संलग्न मध्ये सबैभन्दा बढि ५९ दशमलव ६ प्रतिशत) वैदेशिक रोजगारीमा संलग्न छन् ।
काठेखोला गाउँपालिकाको ८ हजार २ सय ९५ हेक्टर क्षेत्रफल मध्ये करिव ५५ प्रतिशत वन क्षेत्र र करिव ४२ प्रतिशत कृषि क्षेत्रले ओगटेको छ । सो क्षेत्रमा उष्ण प्रदेशीय फलफुल तथा तरकारी देखी शितोष्ण वालीहरुको खेती भैरहेको छ । व्यवसायीक कृषकहरुको तुलनामा निर्वाहमुखी कृषि प्रणाली अवलम्वन गरिरहेका कृषकहरुको वाहुल्यता रहेको मस्यौदामा उल्लेख छ ।
कृषि योग्य जमिन खण्ड खण्डमा विभाजित रहेकोले व्यवसायीक कृषि प्रणाली अवलम्वन गर्न कठिनाई रहेको पाईन्छ । खेतियोग्य जमिनमा दलित परिवारहरुको स्वामित्व निकै कम देखिन्छ भने व्राह्मण, क्षेत्री, ठकुरी समुदायको जमिनमा स्वामित्व रहेको छ ।
तरकारी तथा खाद्यान्न वालीको विउ उत्पादन, मसला वालीको व्यवसायीक खेती, औषधीय गुण भएका वनस्पतीहरुको संकलन तथा उत्पादन, मौरीपालन, च्याउखेती जस्ता कृषि व्यवसायको विस्तार गर्न सकेको खण्डमा यस क्षेत्रले पालिकाको समग्र आर्थिक विकासमा महत्वपुर्ण योगदान दिन सक्ने सम्भावना रहेको मस्यौदामा उल्लेख छ ।
तथ्याङ्गक अनुसार अधिकांश कृषकहरुले आफ्नो घरायसी उपभोगको लागि मात्र पशुपालन व्यवसाय संचालन गर्दै आएका छन् । व्यवसायिक पशुपालनलाई प्राथमिकता दिई कृषी पेशामा कृषकहरुलाई आकर्षित गर्न सकेको खण्डमा पशुपालन व्यवसाय कृषकहरुको लागी मुनाफा मुलक व्यवसायको रुपमा विकास हुन सम्भावना रणनीतिक मस्यौदामा राखिएको बताइएको छ ।