वैवाहिक अंगीकृतमा अड्कियो नागरिकता विधेयक

-- धौलागिरी एफएम संवाददाता / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

संसदको राज्य व्यवस्था तथा सुशासन समितिले नागरिकता विधेयकमा लामो समयसम्म सहमति जुटाउन नसकेपछि मतविभाजनबाट टुङ्ग्याउने तयारी गरेको छ ।
सर्वा्धिक विवादको विषय बनेको वैवाहिक अंगीकृत नागरिकतालाई मत विभाजनबाट टुंग्याएर संसदको चालु अधिवेशन मै विधेयक पास गर्ने तयारी गरिएको हो ।
नागरिकता विधेयक बुधबार नै पारित गर्ने समितिको तयारी थियो । तर, समिति सदस्यहरुबीच बैवाहिक अंगीकृतमा कुरा मिल्न नसकेपछि थाँति रहन पुगेको छ । समिति सभापति शशी श्रेष्ठले यस विषयमा पटक–पटक छलफल गरिएको भन्दै आजै टुंगोमा र्पुयाउने प्रस्ताव गरेकी थिइन् । तर, बैठक सकिँदासम्म सभापतिबाहेक १२ जना मात्र सांसद उपस्थित भएका थिए ।
समितिमा २६ जना सदस्य छन् । गणपुरक संख्याका लागि कम्तीमा १४ जना सांसद उपस्थित हुनुपर्छ । सभापति श्रेष्ठले कोरमको समस्या नभई समिति सदस्यहरुकै आग्रहअनुसार बैठक स्थगित गरेको प्रष्टीकरण दिइन् । समितिका अन्य सदस्यहरु अर्को कुनै सर्वदलीय बैठकमा रहेको र आउनमा ढिलाइ भएको पनि उहाँले बताउनुभयो ।
समितिमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबाट ६, सत्तारुढ दल नेकपाबाट १४, राजपा र समाजवादी पार्टीबाट २ र २, नेमकिपाबाट १ र स्वतन्त्र १ जना सदस्य छन् ।
मतदान भएको अवस्थामा नेकपाको बहुमत पुग्ने अवस्था छ । नेकपाको घोषित लाइन नभए पनि सो पार्टीका सांसदहरु विदेशी बुहारीलाई ५ वा ७ वर्षको मापदण्ड राख्नुपर्ने पक्षमा देखिएका छन् ।
बुधबारको समितिको बैठकमा सांसदहरु विगतमा जस्तै वैवाहिक अंगीकृत नागरिकता प्राप्तीको प्रावधानका सन्दर्भमा विभाजित भए । साविककै प्रावधान राख्ने कि, सरकारले गरेको प्रस्ताव मान्ने कि, नयाँ ब्यवस्था गर्ने भन्नेमा सांसदहरुका आ–आफ्ना तर्क थिए ।
कांग्रेस र फोरमका सांसदहरु वैवाहिक अंगीकृतलाई खुकुलो बनाउनेपर्ने पक्षमा तथा नेकपाका सांसदहरु कडाई गर्नुपर्ने पक्षमा रहेका छन् ।