ग्रामिण सडकमा मनलाग्दी भाडा लिदाँ महँगो भाडा तिर्न बाध्य

-- धौलागिरी एफएम संवाददाता, बागलुङ / प्रकाशित मिति : बिहिबार, भदौ २६, २०७६

म्याग्दीका ग्रामिण सडकमा यात्रा गर्ने सर्वसाधारण महँगो भाडा तिर्न बाध्य छन् ।
मर्मत र स्तरवृद्धि भएका सडकमा चल्ने सवारीको भाडादर समायोजन हुन सकेको छैन । स्थानीय तह तथा नियमनकारी निकायले वेवास्ता गर्दा व्यवसायीले मनलाग्दी भाडा लिने गरेका कारण सर्वसाधारण मर्का छन् ।
जिल्लाका ग्रामिण सडकमा चल्ने धेरै सवारीले आफूखुसी भाडा लिएको गुनासो छ । स्थानीय तह र प्रशासनले कायम गरेको भाडादर कार्यान्वयन हुन सकेको छैन् ।
रघुगंगा गाउँपालिका–२ भगवती जोड्ने सडक बेनीदेखि १२ किलोमिटरको दूरीमा छ । गाउँपालिकाले २०० रुपैयाँ भाडादर निर्धारण गरेपनि ब्यवसायीले ३०० रुपैयाँ भन्दा बढी लिने गरेको स्थानीय चेतनाथ सुवेदीले बताउनुभयो ।
‘निर्धारण गरिएको भाडादर कार्यान्वयन भएको छैन्,’ सुवेदीले भन्नुभयो ‘ ब्यवसायीले आफूखुसी भाडा लिन्छन्।’ व्यवसायीले प्रतिकिलोमिटर तीस रुपैयाँसम्म भाडा लिने गरेका छन् ।
महँगो भाडाले निम्न वर्ग व्यक्ति यातायात सेवाको पहुँचबाट वञ्चित हुनुपर्ने अवस्था भएको मर्कामा परेका स्थानीय प्रेम नेपालीको गुनासो छ ।
बेनी–बरंजा, बेनी–अर्थुङ्गे, बेनी–पुलाचौर, बेनी–पात्लेखेत, बेनी–शिख, हिस्तान, राम्चे, दोवा, बेग, पाखापानी, कुहुँ, दरवाङ देखि देविस्थान, बिम, मराङ, ताकम, मुना, अर्मनको पुलचोकदेखि किमचौर जोड्ने सडकमा पनि यस्तै गुनासा कायम छ ।
जिल्ला यातायात व्यवस्थापन समितिको २०७३ भदौ ६ गते बसेको बैठकले २९ वटा सडकलाई अस्थायी रुट कायम गर्न सिफारिस गरी २०७१ कात्तिक २८ गतेको बैठकले कायम गरेको भाडादरलाई निरन्तरता दिने निर्णय गरेको थियो ।
७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा ७५०, बेनी(दरवाङ–ताकम सडकमा प्रतिकिलोमिटर ८.५० रुपैया र अन्य सडकमा प्रतिकिलोमिटर १२ रुपैयाँका दरले भाडादर कायम गरिएको थियो। कच्ची र जीर्ण सडकका कारण भाडादर बढी कायम भएको यातायात व्यवसायीहरुको प्रतिक्रिया छ ।
रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जिप र ट्याक्सीको भाडादर कायम गरेर कार्यान्वयन गर्ने प्रक्रियामा रहेको जानकारी दिनुभयो । यात्रु चढ्ने र ओर्लने ठाउँमा भाडादर लेखिएको ब्यानर राख्ने, ट्राफिक प्रहरीलाई उपलब्ध गराउने र अनुगमन गरिने उहाँले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले भाडादरको बारेमा गुनासो आएपछि गाउँपालिका अध्यक्षलाई जानकारी गराएको र ट्राफिक प्रहरीलाई बोलाएर अनुगमन गरी बढी भाडा असुल्नेलाई कारबाही गर्न निर्देशन दिएको बताउनुभयो ।
‘प्रशासनमा भाडादरको बारेमा लिखित उजुरी आएमा एक्सन लिन सजिलो हुने थियो,’ प्रजिअ ढकालले भन्नुभयो ‘स्थानीय तहले कायम गरेको भाडादरको बारेमा जानकारी मागेर कार्यान्वयनका लागि ट्राफिक प्रहरीलाई निर्देशन दिन्छौ । कडाइका साथ कार्यान्वयन हुन्छ ।’